ओली यतिखेर ‘दुःखी’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनले तुलसीलाल स्मृति प्रतिष्ठानमा बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीको एकता बचाउनका लागि कोशिस गर्दागर्दै पनि पार्टी विभाजित भएकाले आफूलाई दुःख लागेको बताएका हुन्।

अध्यक्ष ओलीले माधव नेपालप्रति कटाक्ष गर्दै एमाले फुटाउन सांसदहरुलाई घर–घरबाट थुतेर चन्द्रागिरिमा लगेर थुनेको आरोप पनि लगाए । अध्यक्ष ओलीले आफ्नो कार्यकालमा ल्याएको अध्यादेश र वर्तमान सरकारले ल्याएको अध्यादेशमा धेरै भिन्नता रहेको बताए । उनले आफूले देश र जनताको हितका लागि, सांसदहरुको अधिकार रक्षाका लागि संविधानको मर्मअनुसार नै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको दाबी गरेका छन् ।

तर, अहिले ल्याइएको अध्यादेशमा भने कुनै दललाई फुटाउन, कसैलाई सजिलो पार्नका लागि अध्यादेश ल्याउने क्रममा नै राजनीतिक दलसम्बन्धी अध्यादेशमा ‘केन्द्रीय सदस्य वा संसदीय दलको २० प्रतिशत’सम्बन्धी प्रावधान राखिएको उनको दाबी थियो ।

ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढंगले लागू गर्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने बताएका छन् । नेपाल समाचार पत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *