USAID

एमाले बिग्रँदा कांग्रेसलाई लाभ

काठमाडौं । ‘बुढो रूख ढल्यो, ढल्यो। म मितिसमेत भनिदिन्छु। २०७४ पुससम्म मात्र शेरबहादुर देउवा प्रधामन्त्री हुन्। कांग्रेसका अन्तिम प्रधामन्त्री पनि देउवा नै हुन्।’ २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा कात्तिक ३० गते गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको अंश हो यो। त्यतिबेला ओलीले बुढो गाईलाई घाँस हालेर दुध नदिने भन्दै वाम गठबन्धनका उम्मेदवारलाई भोट हाल्न मात्र आग्रह गरेनन्, यो पनि भन्न भ्याए, ‘पिर नमान्नू कांग्रेसले खोजेको प्रजातन्त्र हामी ल्याउँछौं।’

ज्योतिष र भाग्यवादमा पनि विश्वास गर्ने कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले चुनावी सभामा सहभागी हुने क्रममा धनगढी पुगेर ओलीलाई जवाफ फर्काउँदै भने, ‘ज्योतिषीले मलाई सातपटक प्रधानमन्त्री हुने योग छ भनेका छन्, म अझै तीनपटक प्रधानमन्त्री हुन्छु। कम्युनिस्टहरूले भनेर हुन्छ रु’ जनमतमा नभएर भाग्य र ज्योतिषमा भर परेको भन्दै देउवाको पार्टीभित्र र बाहिरबाट तीव्र आलोचना भयो।

२०७४ मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम करिबकरिब ओलीले भनेजस्तै आयो। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ स्थानमध्ये कांग्रेस २३ सिटमा विजयी भयो। केन्द्रमा सरकार बनाउने होइन, प्रधानमन्त्रीविरुद्ध एक्लैले अविश्वासको प्रस्ताव राख्ने हैसियत पनि भएन कांग्रेससँग। सात प्रदेशसभामा पनि कांग्रेसको हालत संघको भन्दा फरक भएन।

निर्वाचनमा पराजित कांग्रेस त्यसको समीक्षा गर्दै संगठन निर्माणमा जुट्न पनि सकेन। बरु पार्टीभित्र एकअर्कालाई आरोपप्रत्यारोप लगाउनमै महिनौं बिताए नेताहरूले। मंसिरमा भएको निर्वाचनको समीक्षा कांग्रेसले वैशाखमा गर्‍यो। चुनावमा कांग्रेस पराजयको जिम्मेवारी कसैले लिएन। संगठन निर्माण पनि कांग्रेस नेताको प्राथमिकतामा परेन। बल्लतल्ल पार्टी उपसभापति नेतृत्वको प्रशिक्षण प्रतिष्ठानले देशभरि अभियान सुरु गर्‍यो, तर गुटगत विवादका कारण त्यसले पूर्णता पाउन सकेन।

१४औं महाधिवेशनबाट पार्टी संगठन कब्जा गर्न देउवा र इतर पक्षले क्रियाशील सदस्य संख्या शतप्रतिशत बढाए। तर, गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेसको मत खासै बढेन। तर पनि कांग्रेसले धेरै स्थानीय तहको प्रमुख जित्यो। यो सफलता कांग्रेसले संगठन सुदृढ गरेर होइन, एमाले बिग्रिएर मिलेको देखिन्छ।

विधानले निर्धारण गरेभन्दा पहिला नै कांग्रेसलाई १४औं महाधिवेशनले छोप्दा केन्द्रदेखि गाउँ तहसम्म संगठन निस्क्रिय बने। पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनलाई चलायमान बनाउने अजेन्डा पनि कांग्रेस नेताको प्राथमिकतामा परेन। प्रतिपक्षी बेन्चमा रहेको कांग्रेस सडकदेखि सदनसम्म नसुनिने र नदेखिने अवस्थामा पुग्यो। प्रतिपक्षी दलका रुपमा कांग्रेसले सरकारविरुद्ध कागजी बन्दुक (विज्ञप्ति) बाहेक उपस्थिति देखाउन सकेन।

एमाले र माओवादी केन्द्र मिलेर शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गर्दा पनि कांग्रेसले संगठन निर्माणमा कुनै ध्यान दिएन। नेकपामा विभाजन आउने र त्यसमै खेलेर सत्ता र शक्तिमा पुग्ने लालच कांग्रेसका केन्द्रदेखि गाउँ तहसम्मका नेता तथा कार्यकर्तामा देखियो। आफू राम्रो हुनेभन्दा अर्को बिग्रेर विगतमा पनि सत्तामा पुगेको कांग्रेसलाई पछिल्लोपटक पनि त्यस्तै भयो।

नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा पूर्व एमाले र पूर्वमाओवादीबीच आआफ्नो अस्तित्व जोगाउने होडबाजी चल्यो। प्रतिनिधिसभा विघटन गर्ने र जोगाउने नेकपाभित्रको गोलचक्करको परिणाम प्रतिनिधिसभामा मरिच जस्तो खुम्चेको कांग्रेस सत्ताको नेतृत्वमा पुग्यो। ज्योतिषीको भविष्यवाणीमा ढुक्क देखिएका देउवा गत वर्षको असार २९ गते पाँचौंपटक प्रधानमन्त्री बने।

१४औं महाधिवेशनबाट पार्टी संगठन कब्जा गर्न देउवा र इतर पक्षले क्रियाशील सदस्य संख्या शतप्रतिशत बढाए। तर, गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेसको मत खासै बढेन। तापनि कांग्रेसले धेरै स्थानीय तहको प्रमुख जित्यो। यो सफलता कांग्रेसले संगठन सुदृढ गरेर होइन, एमालेमा आएको विभाजन र सत्ता गठबन्धनबीच भएको तालमेलका कारण मिलेको देखिन्छ। नागरिक दैनिकबाट

CivActsAd

Leave a Reply

Your email address will not be published.