त्रिविका परीक्षा निर्धारित समयमै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परीक्षा नियमित गर्न अनुमति दिएको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको स्वीकृतिमा भदौको परीक्षा कार्यतालिका नियमित रूपमा सञ्चालन हुने जानकारी दिए । भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ एलएलबी प्रथम वर्षको परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको कार्यतालिका छ । यसपछि स्नातक तह एक वर्षे बीएड र वार्षिक परीक्षा प्रणालीअनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुनेछ ।

सीसीएमसीले आगामी दिनको परीक्षा सञ्चालन गर्न हुने नहुने सम्बन्धमा हाल सञ्चालित विभिन्न तहको परीक्षाको निरीक्षणसमेत गरेको थियो । निरीक्षणका क्रममा सीसीएमसीका अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गरी लिखित रूपमा नै विश्वविद्यालयलाई सुझाव दिएका छन् । सीसीएमसीका सुझाव कार्यान्वयन गरिने र परीक्षा केन्द्रमा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न निर्देश गरिएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिए। यसअघि विश्वविद्यालयले भदौ ५ गतेसम्म प्रकाशित कार्यतालिकाअनुसारको परीक्षा सञ्चालन गर्न सीसीएमसीबाट स्वीकृति लिइएको थियो । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *