अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन सहयोग गर्नुहोस्ः अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गर्न निजीक्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शनिवार भर्चुअल रूपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले उत्पादन बृद्धि गरेर आयात प्रतिस्थापन गर्नेतिर लाग्नुपर्नेमा जोड दिए ।

यसको लागि सामान्य प्रयत्नले नपुग्ने भन्दै मन्त्री शर्माले गुणात्मक प्रयत्न जरुरी रहेको बताए । निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि उत्पादन वृद्धि गर्नु अपरिहार्य रहेको भन्दै उनले यसमा निजीक्षेत्रको सहयोगको आवश्यकता औंल्याए । कोभिड–१९ संकटको बेला निजीक्षेत्रले राहत महसूस गर्ने गरी सरकारले पाइला चाल्ने जानकारी गराउँदै उनले भर्खरै सार्वजनिक मौद्रिक नीतिमार्फत यसलाई सम्बोधन गर्ने प्रयास गरिएको बताए ।

राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्न निजीक्षेत्रले केकस्तो नीतिगत सुधार चाहन्छ त्यसका लागि सरकार तयार रहेको मन्त्री शर्माको भनाइ छ । उनले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउनसमेत निजीक्षेत्रको सहयोग रहने अपेक्षा गरे । राष्ट्रिय सम्पत्ति कति हो भन्ने कुरा मूल्यांकन गरेर वैदेशिक लगानीका लागि समेत उपयुक्त वातावरण निर्माण गर्ने र राष्ट्रको समग्र पूँजी निर्माण गर्नतिर लाग्नुपर्नेमा समेत मन्त्री शर्माको जोड छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *