कोरिया रोजगारी सुरु हुन समय लाग्ने

काठमाडौं। करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ। कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगारी सुरु हुन समय लाग्ने देखिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौंबाट सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको तर सिधा उडानका लागि भाडा दरको टुंगो नलागेको बताए।

यसअघि काठमाडौंबाट ट्रान्जिट हुँदै कोरिया जानेले प्रतिव्यक्ति तीन सय ९२ अमेरिकी डलर हवाई भाडा तिर्ने गरेकोमा सिधा उडान गर्दा हवाई कम्पनीले त्यसभन्दा बढी भाडा मागेको बताइएको छ। सिधा उडानका लागि हवाई कम्पनीले बढी भाडा मागेको बेला राष्ट्रियसभाको सरकारी आश्वासन समितिले कोरिया जाने कामदारलाई थप आर्थिक भार नपर्ने गरी उड्ने व्यवस्था मिलाउन निर्देशन दिएको दवाडीले बताए।

१० हजारभन्दा बढी कामदार भाषा परीक्षा उत्तीर्ण गरेको लामो समय भइसक्दा पनि कोरिया जान पाएका छैनन्। पहिलो लहरको कोरोना महामारीका बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी बताउँछन्।

‘सुरुमा कोरियामा कोरोना महामारी फैलिएको भन्दै नेपाली पक्षले भाषा परीक्षा उत्तीर्ण गरेकालाई पठाउन बन्द गरेको हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पछिल्लो समयमा कोरियाले हामीकहाँ महामारी फैलिएकाले कामदार लिन ढिला गरिरहेको छ।’ तर भाषा परीक्षा उत्तीर्ण गरेकाहरू भने सरकारले पहल नगर्दा कोरिया जान नपाएको दाबी गर्छन्। रुद्र खड्काले आजको नागरिक दैनिकमा खवर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *