काठमाडौं । चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन ३’को उपाधि किरण गजमेरले जितेका छन् । शनिबार राति सम्पन्न तेस्रो संस्करणको गायन रियालिटी शोको ग्राण्ड फाइनलमा तीन प्रतिश्पर्धीलाई पछि पार्दै प्रमोद खरेलको टिममा रहेका गजमेरले उपाधि जितेका हुन् ।
उपाधिसँगै गजमेरले २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । यससँगै टिम प्रमोदले लगातार दोस्रो पटक उपाधि जितेको छ । यसअघि सिजन–१ मा टिम दीप श्रेष्ठका सिडी विजय अधिकारी र सिजन-२ मा टिम प्रमोदका राम लिम्बुले ‘द भ्वाइस अफ नेपाल’को उपाधि जितेका थिए । टिम प्रमोदमा रहेका गजमेरले भोटका आधारमा उपाधि उचालेका हुन् ।
उनी सेमिफाइनलमा सिक्किमका रवि गहतराजलाई पछाडि पार्दै फाइनलमा पुगेका थिए। भ्वाइस अफ नेपालमा सहभागीता जनाउन गजमेर आठ महिना अघि अमेरिकाबाट नेपाल आएका थिए । उनले यसअघि नेपाली चलचित्र ‘राधा’, ‘साढे सात’ लगायतक गितमा स्वर दिई सकेका छन् ।
टिम प्रमोदबाट फाइनलमा किरण गजमेर, टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले फाइनलमा प्रतिश्पर्धा गरेका थिए। ग्राण्ड फिनालेमा कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ टिमबाट एक-एक जना प्रतिस्पर्धी फाइनल पुगेका थिए।
झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मिएका गजमेर हाल अमेरिका बस्दै आएका आएका छन् । भ्वाइसको ट्रफी उचालेपछि आफूले नेपाली नागरिकता पाएजस्तो अनुभव भएको बताएका छन् । ‘यो उमेरसम्म आइपुग्दा मैले नागरिकता पाएको थिइनँ । तर यो ट्रफी नै मेरो नेपालको नागरिकता हो, ‘गजमेरले भनेका भने ।
आफुले जितेको २५ लाख रुपैयाँबाट मात्र १ हजार आमालाई दिने बताउदै गजमेरले पूर्वमा रहेका भूटानी शरणार्थी र पश्चिमको कुनैपनि एउटा आवश्यकता रहेको ठाउँको लागि १/१ वटा एम्बुलेन्स खरिद गरिदिने बताएका छन् ।
