मनसुनजन्य विपद्ले जेठयता ६६ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौं। यस वर्षको मनसुन सुरु भएपछि मनसुनजन्य विपद्का कारण ६६ जनाको मृत्यु भएको छ । ४० जना अझै बेपत्ता भएका छन् । यस्तै ८१ जना घाइते भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले सोमबारको राष्ट्रिय सभा बैठकलाई जानकारी गराएअनुसार मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्कीलगायतका ५५ जिल्ला प्रभावित भएका छन् । खाँणका अनुसार विभिन्न ४० जिल्लामा ६ सय १९ घर पूर्णरूपमा र १ सय ६२ घर आंशिक रूपमा क्षति भएको छ ।

गत १ असारमा सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, यांग्री र लार्के नदीमा आएको बाढीबाट ५ जनाको मृत्यु, २० जना बेपत्ता र ६ जना घाइते भएका थिए । ३ सय ३८ घर पूर्णरूपमा क्षति भएको छ भने सातवटा पुल, १४ वटा झोलुंगे पुल, एक माछा फार्म र ३२ वटा सरकारी भवनमा क्षति पुगेको छ । सोही दिनको बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्कसमा क्षति पुगेको छ ।

आइतबार बिहानैदेखि मेलम्ची नदीमा बाढी आउँदा अझै जनजीवन त्रासमा रहेको छ । जनजीवन सामान्य अवस्थामा फर्किंदै गर्दा १६ र १७ साउनमा फेरि आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा थप क्षति पु¥याएको छ । लेदो, गेग्रानसहितको बाढीले ५३ वटा घर, एउटा पक्की पुल, एउटा झोलुंगे पुल र एउटा सामुदायिक भवनमा क्षति भएको गृहमन्त्री खाँणले जानकारी दिए ।

आइतबारको बाढीले हेलम्बु क्षेत्रमा पुग्ने राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको आजको राजाधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *