मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसँग सम्पर्कविच्छेद

काठमाडौं। आइतवार बिहान हेलम्बुको भेम्राथाङबाट आएको भीषण बाढीका कारण सडक र पक्की पुल बगाउँदा मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसँग सम्पर्कविच्छेद भएको छ । बाढीले हेलम्बुस्थित चनौटेको रातो पुल बगाएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्म जाने यो पुल बगाएपछि अब आयोजनाको कामसमेत ढिला हुने भएको छ ।

मेलम्ची ७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका अधिकांश वडा जोड्ने एक मात्र विकल्पको रूपमा रहेको यो पुल बगाएपछि सवारीसाधनका साथै मानिसको आवतजावत बन्द भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको प्राविधिक टोली सडक सञ्चालनको सम्भावना अध्ययन गर्न खटिएको छ । तर सडक र पुल बगाएकाले तत्काल यातायात सञ्चालन गर्न नसकिने आयोजनाका रेसिडेन्ट इन्जिनियर प्रह्लाद बानियाँले बताए ।

गएको असार १ गतेको बाढीले आयोजनाको हेडवक्र्समा क्षति पुर्‍याएको थियो । मुख्य संरचनासम्म पुग्ने ८ किलोमिटर बाटो समेत बगाएको बानियाँले बताए । ‘अहिलेको बाढीले केही क्षति नपुर्‍याएको भए पनि सडक सञ्जाल टुटेकाले पुनर्निर्माणको काम तत्काल थाल्न सम्भव देखिएन,’ उनले भने ।

बाढीले आयोजनाको बाँध, अडिट सुरुङ, हेडवक्र्स, प्रवेश मार्ग, पुल र सुरु बिन्दुका संरचनामा क्षति पु¥याउँदा लागत समेत बढेको छ । ‘बाढीपछिको पुनर्निर्माणमा झण्डै २ अर्ब रुपैयाँ लाग्ने हाम्रो प्रारम्भिक अनुमान छ,’ आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने, ‘आइतवारको बाढीले कुनै क्षति नपुर्‍याएको भए पनि पहिलाकै बाढी पन्छाउन र पुनर्निर्माण गर्न थप समस्या भएको छ ।’

हेडवर्क्स प्रवेश गर्ने पहिलो बिन्दुको चनौटे पुल नै बगाएकाले सडकमार्ग हुँदै आउने पुनर्निर्माणको सामग्री ल्याउन नसकिने उनले बताए । ‘चनौटेबाट मुख्य प्रवेशमार्ग अम्बाथानसम्मको ८ किलोमिटर सडक र पुलको संरचना ध्वस्त भएको छ,’ पन्तले भने, ‘आयोजनाको मुख्य संरचनासम्म जाने बाटो नै नभएकाले पुनर्निर्माण कहिलेदेखि शुरू हुन्छ, यकिन छैन ।’ आइतवारको बाढीले सो क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *