ज्येष्ठ नागरिकमैत्री नीति जरुरी

काठमाडौं। ज्येष्ठ नागरिक सम्बद्ध सङ्घ, संस्थाका प्रतिनिधिहरूले ज्येष्ठ नागरिकमैत्री नीति बनाई कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । स्थानीय सरकारसँग साधन, स्रोत, जनशक्ति र बजेटसमेत भएकाले ज्येष्ठ नागरिक नीति बनाई कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गरेका हुन् ।

ज्येष्ठ नागरिकसँग भएका ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्न ज्येष्ठ नागरिकका क्रियाकलापसँग सम्बन्धित भिडियो, आवाज रेकर्ड र पत्रपत्रिकामा प्रकाशित लेख, रचना र समाचारलाई आर्काइभमा राख्ने व्यवस्था गर्न सुझाव दिइएको छ । ती कुरा स्थानीय पाठ्य क्रममा समावेश गर्ने, स्थानीय तहमा ९० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई एक जना नर्ससहित नियमित वा दुई दिनमा एक पटक घुम्ती नर्स सेवा कार्यक्रम बनाई कार्यान्वयन गर्न सुझाव दिइएको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले स्थानीय सरकारसँग साधन, स्रोत र जनशक्ति भएको हुँदा स्थानीय सरकारले ज्येष्ठ नागरिकमैत्री नीति बनाई कार्यान्वयन गर्नुपर्ने बताए । उनका अनुसार सबै स्थानीय तहका वडामा ज्येष्ठ नागरिकमैत्री पार्क, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण गरी उक्त दिवा सेवा केन्द्रमा दैनिक ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्नुपर्छ । ज्येष्ठ नागरिक महासङ्घले ज्येष्ठ नागरिकमैत्री नीति बनाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइसकेको श्रेष्ठले बताए ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष वसन्त कार्कीले स्थानीय पालिकाभित्र ज्येष्ठ नागरिकमैत्री संरचना निर्माण गर्न सहज हुने भएकाले ७५३ वटै पालिकाले ज्येष्ठ नागरिक मैत्री नीति बनाई कार्यान्वयन गर्न सुझाव दिए। गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *