पुम्दिकोटको विशाल शिव मूर्ति उत्कृष्ट गन्तव्य

गण्डकी । गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने बताएकी छन् ।

साउनको पहिलो सोमबार शिव मूर्तिको अवलोकन गर्दै प्रदेश प्रमुख पौडेलले पोखरा पर्यटकको उत्कृष्ट गन्तव्य रहेको र विशाल शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षित गर्ने बताएकी हुन् ।

उनले नेपाल प्राकृतिक, सांस्कृतिक एवं धार्मिकरूपमा धनी रहेकाले यसको विकास र संरक्षणमा ध्यान दिन सके अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरिन् । कोरोनाका कारण धेरै मानिसले शान्त र आध्यात्मिक ठाउँहरुको खोजिरहेको जनाउँदै उनले कोरोना कम हुँदै गएपछि यस क्षेत्र धार्मिक एवं अन्य पर्यटकका लागि रोजाइमा पर्ने बताइन् ।

पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवं परिकल्पनाकार चन्द्रकान्त बरालले मूर्तिका बारेमा प्रदेश प्रमुखलाई विस्तृत जानकारी गराएका थिए । बरालका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको २२ रोपनी जमीनलाई ३० वर्षका लागि भोगाधिकार लिएर मूर्ति निर्माण गरिएको हो । नेपालकै अग्लो दाबी गरिएको शिव मूर्ति ४० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ ।

करिब ४० प्रतिशत निर्माण सम्पन्न भएको सो कार्यका लागि हालसम्म २० करोड खर्च भइसकेको छ । हिलट्याङ्क प्रालिका प्रबन्ध निर्देशक कमल जैनले सो शिव मूर्ति प्रदान गरेका थिए ।

भारतको मथुराबाट ल्याइएको सो मूर्ति बाहिर फाइबर र भित्र स्टिलबाट निर्माण गरिएको छ । पर्यटकको बसाइ लम्ब्याउनुका साथै धार्मिक पर्यटकीय गन्तव्यका लागि उत्कृष्ट गन्तव्य बन्ने विश्वास अध्यक्ष बरालको छ ।

सङ्घ सरकार, प्रदेश सरकार र पोखरा महानगरपालिकालगायत विभिन्न व्यक्ति र संस्थाले आर्थिक सहयोग गरेको बरालले जानकारी दिए । समितिले मूर्ति निर्माणका लागि विसं २०७३ मा महायज्ञ लगाएर छ करोडभन्दा बढी नगद र जग्गा प्राप्त गरेको थियो ।

मूर्ति पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्य लिइए पनि अर्थाभाव र कोरोनाका कारण निर्माण केही ढिला हुन पुगेको उनको भनाइ छ । अत्याधुनिक डिजिटल प्रविधिको प्रयोगबाट आसपासको जङ्गलका जङ्गली जनावरको गतिविधिलाई समेत नियाल्न सकिने छ ।

शिवको बृहत् चिनारीसहित १०८ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, सुमेरु पर्वत, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङस्थललगायतका संरचना निर्माण गर्ने योजना रहेको उनले बताए ।

पुम्दीकोट धार्मिकरूपमा समेत शक्तिपीठ भएको जनाउँदै शिवमूर्ति निर्माणले यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्दै लैजाने उक्त वडाका अध्यक्ष मित्रलाल बरालले जानकारी दिए । बरालका अनुसार पोखराको मुख्य बजारबाट करिब १५ किलोमिटरको दूरीमा रहेको सो स्थानबाट हिमशृङ्खला फेवाताललगायतका मनोरम दृश्य देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *