ठाडी भन्सारमा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन

सिरहा । सिरहाको ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । पटकपटकको निषेधाज्ञा र सीमा बन्द भए पनि भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा दुई करोड ८९ लाख ९२ हजार बढी राजस्व सङ्कलन गरेको हो ।

छ करोड ५६ लाख २० हजार सङ्कलनको लक्ष्य रहेकामा नौ करोड ४६ लाख १२ हजार राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाका कारण जेठ र असारमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न नसके पनि अरु महिनामा बढी राजस्व सङ्कलन भएको छ ।

सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत भगवानपुर गाउँपालिका–२ नरहामा सडक निर्माण कार्य भइरहेकाले सवारी साधन आवतजावत सहज नहुँदासमेत लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको प्रमुख साहले बताए । कार्यालयले धान, गहुँ, फलफूल, तरकारी र टायल्सबाट बढी राजस्व उठाएको प्रमुख साहले जानकारी दिए ।

यस्तै यातायात व्यवस्था कार्यालय लहानले आर्थिक वर्ष २०७७/०७८ मा ४३ करोड ७८ लाख १५८ राजस्व सङ्कलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण, जाँचपास, बाटो इजाजतपत्र, प्रदूषण, कम्पनी रजिष्ट्रेसनलगायत शीर्षकबाट सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख मीन भट्टराईले जानकारी दिए ।

सङ्कलन भएको राजस्वमध्ये एक करोड ७० लाख ३३ हजार ५७४ सङ्घीय सरकारको खातामा र ४२ करोड आठ लाख ३९ हजार ५८४ प्रदेश सरकारको खातामा जमा गरिएको कार्यालय प्रमुख भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *