वाणिज्य विभागको बढ्दो सक्रियता: १२ सय ५९ फर्मलाई जरिवाना

काठमाडौं। राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा उपभोक्तामाथि ठगी हुनेक्रम बढिरहँदा त्यसलाई रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई सशक्त बनाउँदै आएको छ ।

कोभिड–१९ को संकटको समयमा समेत व्यापारीहरूले विभिन्न बहानामा दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्य वृद्धि गर्दै उपभोक्तालाई ठगी गर्न थालेपछि विभागले त्यस्तो विकृति रोक्न अनुगमनलाई प्रभावकारी र सशक्त बनाएको हो ।

विभागले चालू आर्थिक वर्ष २०७७र७८ को साउनदेखि जेठ मसान्तसम्मको ११ महिनामा देशभरमा गरी ४ हजार ४ सय ८३ वटा व्यापारिक फर्ममाथि अनुगमन गरेको छ । सो अनुगमनका क्रममा बद्मासी गर्ने १ हजार २ सय ५९ फर्मलाई जरिवाना गरिएको छ भने ४६ फर्मको कारोबार रोक्का गरिएको छ । जरिवानाका क्रममा ३ करोड ३ लाख ३३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । त्यसैगरी, १ हजार ५ सय ९५ कम्पनीमाथि विभिन्न किसिमका कारबाही गरिएको छ ।

विभागले दोस्रोपटकको निषेधाज्ञ अवधि २०७८ वैशाख देखि ३१ जेठसम्मको ढेड महिनाको अवधिमा मात्रै २ सय ३ वटा फर्ममाथि अनुगमन गरेको छ । अनुगमनका क्रममा ९७ वटा फर्मले बदमासी गरेको पाइएपछि तिनलाई जरिवाना गरिएको छ । सो अवधिमा एउटा कम्पनीको कारोबारसमेत रोक्का गरिएको विभागले जनाएको छ भने ६६ वटा फर्मलाई विभिन्न खाले थप कारबाही गरिएको आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *