USAID

विपद् र सडकलाई प्राथमिकतामा राखेर नार्पाभूमिले सार्वजनिक गर्यो बजेट


मनाङ । देशभरका धेरैजसो स्थानीय तहले असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् तर मनाङको gले अविरल वर्षापछि आएको बाढीपहिराका कारण ढिलो गरी बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले असार २० र २१ गते दशौँ गाउँसभाबाट विपद् व्यवस्थापन र सडकलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।

गाउँसभाले १८ करोड ५१ लाख ८७ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बाँस्तोलाले जानकारी दिए । उनका अनुसार बाढीपहिरोका कारण पालिकाका सदस्य नै उपस्थित हुनसक्ने अवस्था नभएकाले केही ठाउँबाट घोडेटो बाटो मर्मतपछि गाउँसभा सम्पन्न गर्न सहज भएको हो ।

“बाढीपहिराले न त गाउँसभा समयमा गर्न सकियो, न राम्रोसँग छलफल गर्न नै, तर केही विषयमा राम्रोसँग छलफल गरी बजेट सार्वजनिक गरेका छौँ”, नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङ्मार लामाले भने ।

बाढीपहिराले नार्पाभूमि मात्रै नभई जिल्लालाई नै धेरै समस्यामा पारेको उनले बताए । गाउँसभाको दिनमा पनि बाटो अवरुद्ध हुँदा सभाका सदस्य समयमै सभास्थलमा आउन नसक्दा ढिलो गरी शुरु गरिएको थियो ।

संविधानमा भएको बाध्यकारी अवस्थाले गर्दा ढिलै भए पनि सभा सञ्चालन गरिएको लामाले बताए । बाढीपहिराले बढी क्षति पुर्याएकाले कोतो–छ्ययाछ्या–हुलाकीओडार–मेता सडकखण्डको बाटो मर्मतका लागि ५० लाख विनियोजन गरिएको उनले बताए ।

साथै क्याङबाट फूगेट हुँदै फूगाउँसम्मको बाटो मर्मत गर्न २० लाख विनियोजन गरिएको छ । गाउँपालिकाले सवारी साधन खरिदको योजना कटौती गरी बजेट विनियोजन गरेको छ । गाउँसभाले शिक्षा, स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *