USAID

फुटबलकाे सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी


काठमाडाैँ । युरो कप र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ । प्रचलित कानुनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई ‘जुवा’ अपराधअन्तर्गत राखेको छ । यस किसिमको जुवाबाट ठूलो रकम अवैध ढङ्गले बाहिरिने गरेको सम्बद्ध अधिकारी बताउँछन् ।

युरो कप र कोपा अमेरिका फुटबल प्रतियोगिताजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई मनोरञ्जनका रूपमा भन्दा अवैध आम्दानीको आधार बनाउनेहरूका कारण अनलाइन ठगी अपराध बढ्दै गएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले सट्टेबाजी तथा अनलाइन जुवामा संलग्न रहेको अभियोगमा आइतबार आठ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरू अधिकांश उद्योगी व्यवसायी हुन् । उनीहरू अवैध आर्जनका लागि यस्तो अपराधमा संलग्न हुने गरेको दाबी प्रहरीको छ । “विकसित मुलुकका नागरिकका लागि सट्टेबाजी तथा बाजी लगाउनु पर्व हो”, एक प्रहरी अधिकारीका भनाइमा नेपालमा भने त्यस्तो कार्य गैरकानुनी हो । अनलाइन बेटिङ नेपाल जस्तो अल्पविकसित मुलुकका लागि लाभदायक छैन ।

विशेष गरी वाट्सएप र भाइबरबाट खेलिने यो घातक जुवामा नेपाली युवा किन फस्दैछन् ? महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला भन्छन्, “लोभले लाभ, लाभले विलाप भनेजस्तै हो ।”

“खेलाउनेहरू सबै विदेशी हुन्छन्, उनीहरू खेल्ने कसैको पनि प्रत्यक्ष सम्पर्कमा आउँदैनन्, एपबाट खेलाउँछन् र इलेक्ट्रोनिक पेबाट रकम लिन्छन्, खेल्ने र खेलाउनेबीच एजेन्ट (दलाल)हरू कमिसन लिएर प्रयोग हुन्छन्”, कोइरालाको भनाइ छ । युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतियोगितामा सट्टेबाजी लगाउने मुख्य सञ्चालक भारतीय नागरिक आदित्य भन्ने रेड्डी अग्रवाल भएको प्रहरीको आरोप छ ।

होटल र्याडिसनका सञ्चालक आदित्यले सविता बस्नेत नाम गरेकी युवतीलाई प्रयोग गरी अनलाइन बेटिङ खेलाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार एक लाख रुपियाँभन्दा माथिको सट्टेबाजीमा सम्पन्न, व्यापारी तथा सयदेखि हजार दरका सट्टेबाजीमा धेरैजसो नेपाली युवाको सहभागिता देखिएको छ ।

काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ परेकामध्ये राजेन्द्र श्रेष्ठ, जीवन लामा, सुरज टिवडेवाल, भारत विहारका अशोक गुप्ता, हरियानाका राजेशकुमार अग्रवाल, सुचित डालमिया अग्रवाल र वीरगञ्जका अमरनाथ गुप्ता व्यापारी हुन् । उनीहरूको साथबाट ३४ लाख ६५ हजार रुपियाँ बरामद भएको प्रहरीको भनाइ छ ।

नेपालमा मात्र यतिबेला २० करोड रुपियाँभन्दा बढीको रकम बाजी लगाइएको दाबी प्रहरीको छ । सो रकम हारजित जसको पक्षमा आए पनि भित्रिनेभन्दा बाहिरिने सम्भावना ठूलो छ । कमजोर कानुन भएका कारण सट्टेबाजीको समस्या बढेको प्रहरीको दाबी रहेकाे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *