बाढीपहिरोले मनाङमा आवतजावत र काममा कठिनाइ

नविन लामिछाने, मनाङ । निरन्तर वर्षासँगै मनाङस्थित मस्र्याङदी नदीमा आएको बाढी–पहिराले भौतिक संरचनासँगै बस्तीहरुमा ठूलो क्षति पुर्याएको छ । बाढीले सडक, पुल, विद्युत गृह र बस्तीमा क्षति पुगेको छ । सडक र पुल बगेपछि गाउँहरु बीच आवतजावत विच्छेद भएको छ । सदरमुकाम चामे, नासों, ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा यातायात पूर्ण रुपमा अवरुद्ध छ ।

सदरमुकाम चामे बजार जोड्ने सडक तथा मोटरेवल पुलमा क्षति पुगेपछि अनुगमनका लागि प्राविधिक टोली पुगेको छ । प्राविधिक टोली डोरीको सहायताले उक्त स्थानसम्म पुगेको हो । पुल जोगाउन र पानी थुनिएको भागको मस्र्याङ्दी नदी खुलाउन प्राविधिक पुगेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा बाढी–पहिराका कारण पैदल हिड्नसमेत जोखिम रहेको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जय विष्टले बताउनुभयो । डोरीको सहायता लिएर अनुगमन गरिएको विष्टले बताए ।

“नासों गाउँपालिका पूर्ण रुपमा जोखिममा र अधिकांश स्थानमा आवतजावत रोकिएको छ, चामे गाउँपालिकाका अधिकांश ठाउँमा बाटो बगाएको छ”, उनले भने,“पहिराले बाटो भत्काएपछि कतिपय ठाउँमा डोरीको सहयताले हिड्नुपर्ने बाध्यता छ, अधिकाशं ठाउँको बाटो नै साना खोलाले कटान गरेकाले डोरीले समात्दै २५–३० किलोमिटर बाटो पदैल हिडेर एक दिन भन्दा बढी लगाएर माथिल्लो मनाङ पुगेर योजनाको अनुगमन गरेका छौं ।”

बाटो भत्किएपछि अधिकांश गाउँको सम्पर्क विच्छेद भएको छ । “खाङ्सारदेखि बेँशीसहरसम्म पुग्न १० घण्टा लाग्छ, अधिकाशं सडक, पक्की, झोलुङ्गे र काठे पुल बगाएको छ”, लामिछानेले भने ।

त्यस्तै खाद्य सामग्रीको अभाव हुन थालेको उनले बताए । “नासों गाउँपालिका लगायत अन्य गाउँमा आवतजावत हुन नसक्ने र ढुवानी गर्न नसक्दा खाद्यान्न अभाव हुन थालेको छ, एक गाउँबाट अर्काे गाउँमा प्रत्यक्ष सम्पर्कका लागि नदीको किनारमा जोखिम मोलेर एक दिन हिँडेर पुग्नुपर्ने बाध्यता छ, सूचना आदानप्रदानमा पनि कठिनाइ छ”, प्रजिअ लामिछानेले भने ।

त्यस्तै पानी परिरहेकाले नदीको बहाव बढ्दै गएको र चामे बजार थप जोखिममा परेको छ । चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय मनाङले अनुरोध गरेको छ । मस्र्याङ्दी नदीमा आएको बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ । झोलुङे पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको छ ।

“निरन्तर वर्षाका कारण माटो गल्दै गएपछि पहिराको जोखिम अझै बढेको छ । जिल्लाका बस्ती बस्ने ठाउँ केही बाढीले बगाइसकेको छ भने बाँकी रहेका पनि अति जोखिममा छन्”, उनले भने । गत जेठ १४ गतेदेखि नै बाढीपहिराका कारण सडक तथा पुलमा आंशिक रुपमा क्षति पुगेको थियो । बाढीपहिराले दुई सातादेखि जिल्लामा सडक सञ्जाल पूरै अवरुद्ध छ । बाढीले गर्दा पुलमा अड्किएका काठ, ढुङ्गा र बालुवा निकाल्न नसक्दा नदीको धार बस्तीतर्फ पसेर भौतिक संरचना बगाउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *