दमौली । रातभर परेको अबिरल वर्षाका कारण तनहुँको व्यास नगरपालिका वडा नम्बर १ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको छ । पुल बगेपछि बिहानैदेखि दुई वडाको सम्पर्क बिच्छेद भएको छ । छाब्दी खोलामा ठूलो बाढी आएपछि पुल भत्किएको भादगाउँका स्थानीय विश्व बाँस्तोलाले जानकारी दिएका छन् । उनले स्थानीय केही घरसमेत जोखिममा परेका बताए ।
पानीको बहाव अझ नघटेमा थप क्षति हुने सम्भावना देखिएको उनले बताए । पृथ्वी राजमार्ग अन्तर्गत छिर्कनेमा पाँच ठाउँमा खसेको पहिरोमध्ये केही हटे पनि केही ठाउँमा अझै हटाउने काम जारी छ ।
प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाका अनुसार पहिरो हटाउने प्रयत्न भैरहेको छ । बिहान साढे तीन बजेदेखि नै राजमार्ग अवरुद्ध छ । अन्य धेरै ठाउँमा पनि पहिरो खसेको जानकारी आएपनि हालसम्म मानवीय क्षति भने नसुनिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

