निषेधाज्ञा खुकुलो भएपछि २०० केजी सुन आयात

काठमाडौं । निषेधाज्ञा अवधिभर नेपालमा सुनको आयात ठप्प भए पनि निषेधाज्ञा खुकुलो भएपछि बाणिज्य बैंकहरूले २०० केजी सुन आयात गरेका छन् ।

गत असार ८ गतेदेखि निषेधाज्ञा केही खुकुलो बनाएर सुनचाँदी पसल पनि खुला गर्न दिएको छ । त्यसपछि नेपाल सुनचाँदी व्यवसायी महासंघको सिफारिशमा नेपाल बैंकर्स संघले त्यस बराबरको सुन आयात गरेको हो ।

महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले महासंघको सिफारिशमा बैंकर्स संघबाट २०० केजी सुन आयात भएको जानकारी दिए । ‘बैंकर्स संघले त्यो सुन आयात गरेर व्यवसायीहरूलाई वितरण गरिसकेको छ,’ उनले भने, ‘यसपालि काठमाडौं उपत्यकाका लागि १०० केजी र उपत्यकाबाहिरका लागि १०० केजी सुन आयात गरिएको छ ।’

कोरोनाको दोस्रो लहर शुरू भएपछि जिल्ला प्रशासन कार्यालयमार्फत अधिकांश जिल्लाहरूमा निषेधाज्ञा लगाइएको थियो । गत वैशाख १२ गतेदेखि नै सुन आयात ठप्प थियो । अहिले निषेधाज्ञा खुकुलो भएपछि सुन आयात गर्न शुरू गरिएको शाक्यले बताए ।

निषेधाज्ञा जारी हुने सम्भावना बढेपछि महासंघले नै बैंकहरूलाई सुन आयात नगर्न आग्रह गरेको थियो । बैंकहरूले गत वैशाख १२ गतेयता सुन आयात गरेका थिएनन् । नेपालमा सुन आयात गर्ने अख्तियार बैंकहरूलाई दिइएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार जेठमा सुनको आयात शून्य रहेको छ । वैशाखमा पनि आयात अत्यन्तै न्यून देखिएको समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *