सर्वोच्चको आदेशलाई वेवास्ता गर्दै एमालेद्वारा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आह्वान

काठमाडौं । नेकपा एमालेले असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘यस विषयमा अझै उच्च तहमा छलफल गर्नुपर्ने देखिएकाले यही असार १६ गते एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक काठमाडौंमा राख्ने निर्णय गरेका छौं।’ यस्तै महाधिवेशनका लागि सदस्यता नवीकरण गर्न मातहतका सबै कमिटीलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन् ।

यसअघि सर्वोच्च अदालतले समेत आयोजक कमिटीलाई नचिन्ने भन्दै कमिटीले गरेको कारवाहीको निर्णय वैधानिक नभएको आदेश दिएको थियो । तर ओलीले सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै बैठक बोलाएका हुन् ।

यसैबीच बैठकले महाधिवेशन आयोजक कमिटीका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई गम्भीर र त्रुटिपूर्ण भनेको छ । प्रवक्ता ज्ञवालीले राजनीतिक दलसम्बन्धी ऐनमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बारेमा उल्लेख रहेको र यो दलहरुको नितान्त आन्तरिक विषय हो बताए ।

उनले त्यसविरुद्धमा आफूहरु भ्याकेटमा गएको बताए । ज्ञवालीले दलहरुको आन्तरिक प्रबन्धलाई बेवास्ता गर्दै आएको आदेश त्रुटिपूर्ण भएको बताए। उनले भने, ‘हामीले यसबारे कानुनी प्रतिवाद गरिरहेका छौँ। तर, यति हुँदाहुँदै पनि अदालतको आदेश आइसकेपछि त्यसलाई मान्नु हाम्रो बाध्यता हो । त्यसलाई मानेर नै चल्छौँ। तर हामीलाई पूर्ण विश्वास छ। यस्तो कानुनभन्दा बाहिर गरिएको आदेश अन्तिम समयसम्म टिक्नेछैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *