ईतिहास बनाउँदै इटाली युरोकपको क्वाटरफाइनलमा

प्रज्जवल थापा । लगातार ३१ खेलको अपराजित यात्राको इतिहास बनाउँदै इटाली युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम १६ को खेलमा इटालीले अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

वेम्बली रंगशालामा भएको खेलमा इटालीलाई जित दिलाउन फेडेरिको चिएसा र माट्टेओ पेस्सिनाले एक/एक गोल गरे । अष्ट्रियाको लागि सासा कालाजड्जिकले एक गोल फर्काए । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धेकेलिएको थियो । अतिरिक्त समयको पाँचौ मिनेटमा स्पिनजोलाको पासमा चिएसाले गोल गर्दै इटालीलाई खेलमा अगाडि बढाए ।

यस्तै १ सय ५ औं मिनेटमा आकेर्बीको पासमा पेस्सिनाले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए । १ सय १४ औं मिनेटमा स्चाउबको पासमा कालाज्ड्जिकले गोल गर्दै अष्ट्रियालाई २-१ गोलको स्थितिमा ल्याएका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा अष्ट्रिया २-१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

जितसँगै इटालीले आफ्नो अपराजित यात्रालाई ३१ खेलसम्म लम्ब्याएको छ । यसअघि इटालीले सन् १९३५ देखि १९३९ सम्म ३० खेलमा अपराजित रहेको थियो । तर ११ खेलसम्म गोल नबेहोरेको इटालीले अष्ट्रियालाई भने रोक्न सकेन । अब इटालीले सेमिफाइनल प्रवेशको लागि आज हुने बेल्जियम र पोर्चुगलबिचको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *