काठमाडाैँ । पदाधिकारी नियुक्त भएपछि लोकसेवा आयोगले बाँकी रहेका काम पूरा गर्ने तयारी थालेको छ । परीक्षा, अन्तर्वार्ता र नतिजा प्रकाशन तथा सचिव बढुवा आयोगको पहिलो प्राथमिकतामा छन् ।
‘अबको सय दिनमा फूलपातीको अघिल्लो दिनभित्र सबै तहको परीक्षा, अन्तर्वार्ता र नतिजा प्रकाशनको काम सक्ने कार्ययोजना बन्दै छ, रोकिएका र नियमित काम सँगसँगै हुन्छ,’ लोकसेवाका नवनियुक्त अध्यक्ष माधवप्रसाद रेग्मीले भने ।
लोकसेवाका सचिव महेन्द्रप्रसाद गुरागाईंले बिहीबार नै अध्यक्ष रेग्मीलाई ब्रिफिङ गर्दै साउन पहिलो साताबाट अन्तर्वार्ता तथा १५ साउनबाट सबै तहका परीक्षा सञ्चालन गर्न सकिने कार्ययोजना पेस गरेका थिए ।
२१ वैशाखमा सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेशमार्फत सिफारिस भएका ११ संवैधानिक आयोगका २० पदाधिकारीले बिहीबार नियुक्त भई त्यसै दिन शपथग्रहण गरेका थिए । जसमा लोकसेवा आयोगका पदाधिकारी पनि थिए । संसदीय सुनुवाइविनै नियुक्त भई शपथ लिएका सबै पदाधिकारीले बिहीबार नै पदभार पनि ग्रहण गरेका थिए ।
कोभिड– १९ र आयोग पदाधिकारीविहीन हुँदा अनिश्चित भएको नयाँ विज्ञापन दसैँ–तिहारपछि आह्वान हुने भएको छ । ०७७ मा आह्वान हुने भनिएका विज्ञापनलाई ०७८ को कार्ययोजनामा समावेश गरेर क्यालेन्डर बनाइने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिए ।
निजामतीतर्फ राजपत्रअनंकित द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) र स्वास्थ्य सेवाका चौथो तह, प्रहरीमा इन्स्पेक्टर, असइ र जवान (प्राविधिक), सशस्त्र प्रहरीमा जवान तथा राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायकको विज्ञापन गत फागुन–चैतमा आह्वान गर्ने कार्यतालिका थियो । तर, अब यी विज्ञापन दसैँपछि मात्र आह्वान हुनेछन् ।
‘अब परीक्षा, अन्तर्वार्ता र नतिजा प्रकाशनको प्रक्रिया सुरु हुन्छ,’ प्रवक्ता सुवेदीले भने, ‘नयाँ विज्ञापन दसैँपछि मात्र हुने भयो, आगामी वर्षलाई असर नपर्ने गरी कार्यतालिका बनाउँदै छौँ ।’
१० जना सचिवमा बढुवा हुँदै
तीन महिनादेखि अवरुद्ध राजपत्रांकित विशिष्ट श्रेणी (सचिव)को बढुवा सिफारिस आगामी साताबाट सुरु गरिने आयोग स्रोतले जानकारी दियो । लोकसेवाका अध्यक्षको अध्यक्षतामा हुने बढुवा समितिको सिफारिसमा मन्त्रिपरिषद्बाट सचिव बढुवा गर्ने व्यवस्था छ ।
अहिले सचिवमा १० सिट रिक्त छ । त्यसमा वरिष्ठतम सहसचिवले निमित्त सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । ‘सचिव रिक्त हुँदा प्रशासनिक क्षेत्रमै समस्या देखिएको छ, अब आइतबारदेखि नै सिफारिसको काम हुन्छ,’ आयोग स्रोतले भन्यो । याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।
