खोप नलगाएका कामदार खाडी जान नपाउने

काठमाडौँ । सरकारले खाडी देशमा काम गर्न जाने कामदारका लागि खोपको व्यवस्था गर्न नसके वैदेशिक रोजगार धराशायी हुने जोखिम बढेको छ । खाडीका मुलुकहरूले खोप लगाएका कामदार मात्र लैजाने आदेश जारी गरेपछि नेपाली श्रमिक जान नपाउने भएका हुन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा गत वैशाख २३ देखि नेपालबाट कामदारसहितको यात्रुलाई प्रवेश निषेध छ । सातामा यूएई–नेपाल चारवटा चार्टर उडान भइरहेको छ । जसमा नेपाल र यूएईका दुई/दुई हवाई कम्पनीहरूले अनुमति पाएका छन् । यी विमानहरूले यूएईबाट नेपालमा यात्रु ल्याउन मात्रै पाउँछन्, लैजान पाउँदैनन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठका अनुसार यूएईले उडानमा रोक लगाउँदा मात्रै ५ हजार जना नयाँ र बिदामा घर आएका कामदार रोकिएका छन् ।

असार ९ गते जारी खोपसम्बन्धी अर्को सूचनाले नेपालीको खाडीमा रोजगारी थप अन्योलमा परेको छ । ‘हामी त चार्टर उडान भएपछि पठाउन पाउँछौं होला भनेर अन्तिम श्रम स्वीकृति पाएका कामदारलाई काठमाडौं बोलाएका थियौं । टिकट कन्फर्म गर्ने कोसिसमा थियौं, चार्टरमा जान नै पाएन,’ श्रेष्ठले भने, ‘अब त खोप लगाइसकेकालाई मात्रै आउन पाउने खालको नीति लिएको छ ।’

कोरोना संक्रमणविरुद्ध दिइने खोपमध्ये यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ । यी खोप लगाएकाले मात्रै यूएई प्रवेश पाइन्छ । यी खोप नेपालमा अभाव छ ।

कोरोनाको पहिलो संक्रमणको लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार लगेको छैन । नयाँ भिसा पनि जारी गरेको छैन । आउँदो साउन १७ देखि भने खोप लगाइसकेको कामदार भने आउन पाउने सूचना जारी गरेको छ । कुवेतले कोभिडबाट उच्च र कम जोखिममा रहेको देशको सूचीलाई हटाउँदै कुवेतले अनुमोदन गरेको खोप लगाएकालाई प्रवेशको अनुमति दिने नीति लिएको हो ।

नेपाली कामदारको माग भइरहेको साउदी अरबले पनि एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ । साउदी प्रवेश गर्ने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्छ । आन्तरिक मन्त्रालय, साउदीको सूचनाअनुसार आउँदो साउन १७ देखि खोपको मात्रा पूरा भएका कामदार मात्रै कार्यक्षेत्रमा काम गर्न पाउनेछन् । बिनाखोप काम गरेको भेटिएमा जरिवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्न सक्ने नीति ल्याइएको छ ।

वैदेशिक रोजगारबाट घर बिदामा आएका हजारौं कामदार खोप नपाएका कारण पुनः रोजगारीमा जान नमिल्नाले रोजगार गुम्न लागेको छ । नेपालमा कोभिसिल्ड र भेरोसेल खोप ल्याइएको थियो । निकै कम परिमाणमा ल्याइएकाले वैदेशिक रोजगारीमा जानेहरू सरकारको खोपको प्राथमिकतामै नपरेकाे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *