तेस्रो लहर आउने डेल्टा प्लस: विज्ञ भन्छन्- खोप नआए झनै भयावह

काठमाडौँ  । खोपको अभावमा कोभिड–१९ को तेस्रो लहर आउने अवस्थामा ‘डेल्टा प्लस’ भेरिएन्टले धेरै प्रभाव पार्ने विज्ञहरूले बताएका छन् । हाल नेपालमा दोस्रो लहर फैलिएको डेल्टा भेरिएन्टको अर्को रूप ‘डेल्टा प्लस’ हो  ।

डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप ‘एवाई.१’ वा डेल्टा प्लस भेरिएन्ट यसै साता नेपालमा समेत पुष्टि भएको छ । यो म्युटेसनको नाम ‘के४१७ एन’ हो  । छिमेकी भारतलगायत ११ मुलुकमा डेल्टा प्लस भेरिएन्ट देखिएको छ । ‘हालसम्म ९ वटा नमुनामा देखिएको डेल्टा प्लस भेरिएन्ट उच्च संक्रामक छ,’ स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘हामी जिम्मेवार भएनौं भने डेल्टा प्लसद्वारा उत्पन्न संक्रमण बढ्न सक्छ ।’

डेल्टा प्लस भेरिएन्ट कोभिडको तेस्रो लहरको ट्रिगर (उत्प्रेरक) हुने उच्च सम्भावना रहेको नागासाकी विश्वविद्यालयका प्राध्यापक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेको भनाइ छ । डेल्टा प्लस भेरिएन्ट तेस्रो लहर ल्याउनमा जिम्मेवार हुन सक्ने उच्च सम्भावनापछि यसको उच्च संक्रामकतासँगै कोषमा भाइरस टाँसिन सक्ने क्षमतासमेत प्रमुख छ ।

खोप लगाएर वा प्राकृतिक रूपमा संक्रमण भएर शरीरमा उत्पन्न एन्टिबडीको प्रभावकारिता डेल्टा प्लस भाइरसले कम गराउन सक्छ तर मुलुकमा खोपको अभाव जारी रहेका कारण यसले झनै भयावह अवस्था निम्त्याउन सक्ने औंल्याउँदै डा. पाण्डेले भने, ‘डेल्टा प्लसले बालबालिकादेखि बूढापाकासम्म सबै उमेर समूहलाई संक्रमण गर्न र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता देखिएकाले समयमै सचेतता आवश्यक छ ।’

विज्ञहरूका अनुसार धेरै संक्रामक रहेको डेल्टा प्लस फोक्सोको कोषिकाको रिसेप्टरमा बलियोसँग टाँसिन सक्छ । यही कारणले फोक्सोलाई छिटो नोक्सान पुर्‍याउँछ । यो मोनोक्लोनल एन्टिबडी ककटेललाई समेत माथ दिन सक्षम देखिएको छ । भारतको इन्डियन सार्स कोभ–२ कन्सोर्टियम अन जिनोमिक्स (आईएनएसएसीओजी) का अनुसार डेल्टा प्लस भेरिएन्टको ट्रान्समिसन क्षमता र फोक्सोको कोषिकाको रिसेप्टर्ससँग टाँसिने क्षमता बढी रहेकाे समाचार कान्तिपुरमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *