बराबरीका बाबजुत जर्मनी अन्तिम १६ मा

प्रज्जवल थापा । जर्मनी युरोकप फूटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको समूह ‘एफ’को रोमाञ्चक खेलमा जर्मनीले हंगेरीसँग २-२ गोलको बराबरी खेल्दै दोस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको हो ।

एल्लिनाज एरिनामा भएको खेलमा जर्मनीको लागि काइ हाभेर्ट्स र लियोन गोरेट्ज्काले समान एक/एक गोल गरे । हंगेरीको लागि एडम स्जालाइ र एन्ड्रेस स्चाफेरले एक/एक गोल गरे । खेलमा दुईपटक लिएको अग्रता जोगाउन नसक्दा हंगेरी बराबरी खेल्दै प्रतिगोगिताबाट बाहिरिन बाध्य भयो । पहिलो हाफको ११ औं मिनेटमा रोनाल्ड साल्लाइको पासमा स्जालाइले गोल गर्दै हंगेरीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

६६ औं मिनेटमा म्याट हुमेल्सको पासमा हाभेर्ट्सले गोल गर्दै जर्मनीलाई बराबरीमा ल्याए । तर दुई मिनेट बित्न नपाउँदै स्जालाइको पासमा स्चाफेरले गोल गर्दै फेरि हंगेरीलाई खेलमा अगाडि बढाएका थिए । ८४ औं मिनेटमा लियोन गिरेट्ज्काले गोल गर्दै जर्मनीलाई २-२ गोलको अवस्थामा ल्याए । बाँकी समयमा थप गोल नहुँदा दुवै टोलीले एक/एक अङ्क बाढे ।

बराबरीसँगै जर्मनी दोस्रो स्थानमा रहेर नकआउट चरण प्रवेश गर्दा हंगेरी भने प्रतियोगिताबाट बाहिरिएको छ । जर्मनीले ३ खेलबाट ४ अङ्क जोड्दै दोस्रो रहेर समूहचरणको अन्त्य गरेको छ । हंगेरीले समान खेलबाट २ अङ्क मात्र जोड्न सक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *