प्रज्जवल थापा । नेपाली राष्ट्रिय महिला फूटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको शल्यक्रिया कतारमा हुने भएको छ । सावित्रा उपचारको लागि शनिबार कतार प्रस्थान गर्ने अखिल नेपाल फूटबल संघ(एन्फा) ले जनाएको छ । उनको शल्यक्रिया कतारस्थित अस्पेटर अस्पतालमा हुनेछ ।
गत फागुनमा भएको राष्ट्रिय महिला लिगको क्रममा नेपाल पुलिस विरुद्धको खेलमा सावित्रा घाइते भएकी थिइन् । उनले विभागीय टोली नेपाल पुलिसविरुद्धको खेलमा विपक्षी गोलरक्षक उषा नाथसँग ठोक्किदा दायाँ घुँडामा चोट बोकेकी थिइन् । त्यसपछि एमआरआई गर्दा उनको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट च्यातिएको देखिएको थियो । त्यसयता सावित्रा मैदान बाहिर रहँदै आएकी थिइन् । उक्त लिगको १० खेलमा सावित्राले सार्वधिक ४३ गोलपनि गरेकी थिइन् ।
राष्ट्रिय महिला टोलीको सार्वधिक गोलकर्तापनि रहेकी सावित्रा शल्यक्रिया पश्चात् अझै एक वर्ष मैदान बाहिर रहनेछिन् । यसअघि नेपाली टोलीका खेलाडीद्वय विक्रम लामा र विमल घर्ती मगरलेपनि कतारमा उपचार गराएका थिए ।
तस्बिर:- एन्फा
