शानदार जितसहित डेनमार्क अन्तिम १६ मा

प्रज्जवल थापा । डेनमार्क युरोकप २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह ‘बी’को खेलमा डेनमार्कले रसियालाई ४-१ गोले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो ।

टेलिआ पार्केनमा भएको खेलमा डेनमार्कलाई जित दिलाउन मिक्केल डाम्सगार्ड, युसेफ पोउल्सेन, एन्ड्रेस क्रिस्टेनसेन र जोएकिम माहलेले एक/एक गोल गरे । रसियाको लागि एर्टेम ज्युबाले एक गोल फर्काए । खेलको ३८ औं मिनेटमा होजब्जेर्गको पासमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५९ औं मिनेटमा युसेफ पोउल्सेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर बनाए । ७० औं मिनेटमा ज्युबाले पेनाल्टीमा गोल गर्दै रसियालाई २-१ गोलको अवस्थामा ल्याएका थिए । ७९ औं मिनेटमा क्रिस्टेनसेनले गोल गरेपछि डेनमार्क सहज जिततर्फ अगाडि बढेको छ । यस्तै ८२ औं मिनेटमा होजब्जेर्गको पासमा माहलेले गोल गर्दै डेनमार्कलाई ४-१ गोलको जित दिलाए ।

जितसँगै डेनमार्क ३ खेलबाट ३ अङ्क जोड्दै दोस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको हो । समान अङ्क जोडेको रसिया गोलअन्तरको आधारमा चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

समूहको अर्को खेलमा बेल्जियमले फिनल्यान्डलाई २-० गोलले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गर्दा एक गोल उपहार पाएको हो । जितसँगै बेल्जियम ३ खेलबाट ९ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ । पराजित फिनल्यान्ड तीन अङ्कको साथ तेस्रो स्थानमा छ । नकआउट चरण प्रवेशको लागि फिनल्यान्डले अन्य समूहको नतिजा पर्खिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *