प्रज्जवल थापा । इटाली समूह ’ए’को शीर्ष स्थानमा रहँदै युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूहको अन्तिम खेलमा इटालीले वेल्सलाई १–० गोलले हराउँदै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।
एक खेल अगावै नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेको इटालीले वेल्सविरुद्व केही प्रमुख खेलाडीलाई विश्राम दिएको थियो । पहिलो हाफको ३९ औं मिनेटमा मार्को भेराट्टीको पासमा माट्टेओ पेस्सिनाले गोल गर्दै इटालीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
तर बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुँदा इटाली १–० गोलले विजयी भयो । जितसँगै इटाली ३ खेलबाट ९ अङ्क जोड्दै समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरण प्रवेश गरेको छ । हारका बाबजुत वेल्सपनि दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ ।
