काठमाडौं । विपक्षी गठबन्धनले एमालेको सरकार रहेका बाँकी प्रदेशमा गठबन्धनको सरकार बनाउन पहल जारी राख्ने समझदारी गरेको छ । गठबन्धन सरकार बन्न बाँकी रहेकामा प्रदेश १, वागमती र लुम्बिनी प्रदेश छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार साँझ बसेको बैठकले प्रदेश १, वागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार बनाउन राजनीतिक पहल जारी राख्ने समझदारी गरेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिले विपक्षी गठबन्धनलाई निरन्तरता दिएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र सभापतिलाई धन्यवाद दिएका थिए । यस्तै, एमाले एकताको प्रयास जारी रहे पनि माधव नेपाल पक्षलाई गठबन्धन नछाड्न समेत बैठकले सुझाव दिएको छ ।
यस्तै, बैठकले प्राकृतिक विपद्मा जनतालाई राहत दिन सरकार असफल भएको निष्कर्ष समेत निकालेको छ ।
छलफलमा नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई निरन्तरता दिने बताएका छन् । छलफलमा एमालेको तर्फबाट नेपालसँगै भीम रावल सहभागी थिए । कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायत सहभागी थिए ।
त्यसैगरी जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए । एमाले माधवकुमार नेपाल पक्षबाट भने नेता नेपालसँगै भीम रावल तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी भएका थिए ।
