अन्योलबीच कांग्रेसमा नेतृत्वका लागि जोडघटाउ, देउवाकाे गृहकार्य सुरु

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन मिति पटक पटक प्रभावित भइरहेका बेला शीर्ष नेताहरु नेतृत्वका लागि तयारी सुरु गरेका छन् । केन्द्रीय समितिको शुक्रबार सम्पन्न बैठकले कार्यतालिका संशोधन गरी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेलगत्तै सभापति शेरबहादुर देउवा फेरि पार्टीको नेतृत्व लिने तयारीमा जुटेका छन् ।

कोरोना भाइरस संक्रमणका बीच महाधिवेशन हुनेमा शीर्ष नेताहरुबाटै आशंका व्यक्त भइरहेका बेला सभापति देउवाले शनिबार प्रदेश १ र २ का निकट केन्द्रीय सदस्यहरुलाई बोलाएका छन् । ‘संशोधित कार्यतालिकाअनुसार महाधिवेशन हुन्छ । सभापतिमा म फेरि उम्मेदवारी दिनेछु,’ देउवालाई उद्धृत गर्दे छलफलमा सहभागी एक नेताले भने, ‘सोही अनुसारको तयारी गर्नुहोला ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले लोकप्रिय मत पाए पनि प्रत्यक्षतर्फ धेरै स्थानमा जित्न नसकेको भन्दै देउवाले आफ्नै नेतृत्वमा कांग्रेसलाई ठूलो पार्टी बनाउने दाबी गर्दै आएका थिए । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीले लोकप्रिय मत पाए पनि पार्टीले प्रत्यक्षतर्फको सिट धेरै जित्न नसकेको भन्दै देउवाले आफ्नै नेतृत्वमा कांग्रेसलाई ठूलो पार्टी बनाउने दाबी गरेका थिए ।

त्यसपछि आफ्नो धारणा राखेका उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिल थापासहितका नेताहरूले नेतृत्वमा देउवालाई सहयोग गर्ने बताउँदै अघि बढ्न सुझाएका थिए । केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङले देउवाको उम्मेदवारीमा विरोध जनाएनन् । तर उपभापति विमलेन्द्र निधिले भने आफूले पनि पार्टी नेतृत्वका लागि आकांक्षा राखेको भन्दै टिमलाई मिलाएर अघि बढ्न देउवालाई सुझाएका थिए ।

‘हामी तपाईंकै साथमा छौं तर उपसभापति विमलेन्द्र निधिले पनि नेतृत्वका लागि आकांक्षा राख्नुभएको छ । टिमभित्र सहमति बनाएर जाँदा राम्रो हुन्छ,’ देउवालाई दिएको सुझाव उद्धृत गर्दै एक नेताले भने। जबाफमा देउवाले भने, ‘ऊ (विमलेन्द्र निधि) पनि लड्छ । म पनि लड्छु, सहयोग गर्नुहोला ।’

पार्टीभित्र र आमजनतामा सकारात्मक माहोल नभएको भन्दै केही निकटवर्तीले नेतृत्वका लागि फेरि प्रतिस्पर्धा नगर्न देउवालाई सुझाउँदै आएका बेला उपसभापति निधिले एक वर्षअघि भेटेर आफू पनि नेतृत्वका लागि आकांक्षी रहेको बताएका थिए ।  आफू पार्टी नेतृत्वका लागि स्वाभाविक दाबेदार भएको बताउँदै निधिले देउवाको समर्थनमा आफू सभापतिको उम्मेदवार बन्ने चाहना व्यक्त गरेका थिए ।

देउवाले १४औं महाधिवेशनमा आफैं नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जनाउँदै निधिलाई १५औंका लागि तयारी गर्न सुझाएका थिए । तर निधिले १४औं महाधिवेशनमा नै उम्मेदवार बन्ने बताएका थिए । त्यसपछि देउवा र निधिबीचको सम्बन्ध बिस्तारै चिसिएको एक नेताले जानकारी दिए ।

सभापति देउवाले शनिबार दिउँसो गरेको छलफलमा प्रदेश २ बाट आनन्द ढुंगानासहित चार नेता मात्र सहभागी भएको एक नेताले जानकारी दिए। प्रदीप गिरी, चित्रलेखा यादवसहितका केही नेता काठमाडौं भएर पनि देउवाले बोलाएको छलफलमा सहभागी भएनन् । महेन्द्र यादव, रमेश रिजालसहितका केही नेता जिल्लामा रहेको जनाउँदै सहभागी भएनन् । छलफलमा देउवाले आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सहयोग गर्न सहभागी उपसभापति निधिसहितका नेतालाई आग्रह गरेका थिए ।

निधिले आफू पनि सभापतिको आकांक्षी रहेको सुनाउँदै देउवालाई प्रधानमन्त्री बन्न सुझाएका थिए । त्यसका लागि आफू पनि लागेको भन्दै निधिले सहयोगका लागि आग्रह गरेको स्रोतको दाबी छ । जबाफमा देउवाले तपाईंलाई पनि उम्मेदवार बन्ने अधिकार छ भन्दै आफू पनि उम्मेदवार बन्ने बताएका थिए । त्यसपछि निधिले तपाईं (शेरबहादुर देउवा) को समर्थनमा उम्मेदवार बन्ने अधिकार आफूलाई रहेको दाबी गरेको सहभागी एक नेताले बताए । ती नेताले भने, ‘तर मिलेर अघि बढ्नेजस्तो छनक शनिबारचाहिँ देखिएन ।’

१४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार को-को बन्छन? भन्ने अहिले नै यकिन नभए पनि संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति बिमलेन्द्र निधि नेतृत्वका लागि अघि बढेका छन् । इतर पक्षबाट नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले नेतृत्वका लागि आकांक्षा व्यक्त गर्दै आइरहेको समाचार नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *