बिपी प्रतिष्ठान धरानका डाक्टर र नर्स पाँच दिनदेखि आन्दोलनमा

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता भएको भन्दै पाँच दिनदेखि चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारी आन्दोलनमा छन् । आर्थिक अनियमितता गर्दै आएका उपकुलपति डा. ज्ञानेन्द्र कार्कीले कोभिड महामारीका वेला स्वास्थ्य सामग्री खरिदमा समेत भ्रष्टाचार गरेको आरोप लागेको छ । गम्भीर बिरामीलाई राखिने एचडियू (हाई डिपेन्डेन्सी युनिट) खरिदमा समेत भ्रष्टाचार गरेको भन्दै अख्तियारमा समेत उजुरी परेको छ ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्थानीय व्यापारी चेतन अग्रवालसँगको मिलेमतोमा सार्वजनिक खरिद नियमावलीविपरीत सामान खरिद गरेर अस्पताललाई घाटामा पारेको भन्दै  एक डाक्टर र एक कर्मचारीले राजीनामा दिएका थिए । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने तयारी गरेका अग्रवालका दुई फर्म प्रेसिजन र सर्जिकेमबाट तीन करोड २६ लाखको सामान खरिद गरिएको थियो ।

उपकुलपति गिरी र अस्पताल निर्देशक डा. गौरीशंकर साहले अग्रवालसँगको मिलेमतोमा त्यस्तो निर्णय गरेको कर्मचारीहरू बताउँछन् । त्यसका लागि गत १८ जेठमै अग्रवालको कम्पनीलाई एक करोड २५ लाख भुक्तानी गरिसकिएको थियो । त्यसमध्ये २५ वटा एचडियू बेड बजार मूल्यभन्दा २६ लाख बढी राखेर खरिद गरिएको थियो । खरिदका लागि सुरक्षित चलान र कागजपत्र स्टोरको दाखिला नै छैन ।

उपकुलपति भएपछि गिरीले गत वर्षको लकडाउनमा काठमाडौंस्थित पार्क भिलेज रिसोर्टमा बिपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक बसाएका थिए । उनले प्रतिष्ठानका नाममा काठमाडौंको बाँसबारीमा रहेको सात रोपनी, भक्तपुरमा रहेको १२ रोपनी, धरानको छाताचोकमा रहेको ६ कट्ठा, मोरङको सुन्दरहरैँचामा रहेको १४ बिघामध्ये ६ बिघा जमिन निजी क्षेत्रलाई ३५ वर्षसम्मका लागि लिजमा दिने निर्णय गराएका थिए । तर, चिकित्सक, प्रतिष्ठानका सिनेटरदेखि सर्वसाधारणसम्मले विरोध गरेपछि सो निर्णय कार्यान्वयन हुन सकेको छैन । यस्तै, अक्सिजन प्लान्ट मर्मतमा आफूनिकटलाई दिएर पूर्ण क्षमतामा नचलाई प्रतिष्ठानलाई क्षति पुर्‍याएको पनि चिकित्सक र कर्मचारीको आरोप छ ।

शृंखलाबद्ध रूपमा भइरहेको अनियमितता र भ्रष्टाचारलाई व्यवस्थापन पक्षले मलजल गरेको आरोप लगाउँदै बिपी स्वास्थ्य प्रतिष्ठान सुधार सञ्जाल गठन गरेर नागरिक समाज पनि आन्दोलनमा उत्रिएको छ । महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. राजेन्द्र शर्माको नेतृत्वमा बिपी प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीविरुद्ध निरन्तर आन्दोलन चलिरहेको छ ।

संघर्ष समितिका संयोजक डा. एसपी रिमालले भ्रष्टाचारविरुद्ध आवाज उठाउनेलाई नै कारबाहीको धम्कीसहितको पत्र काट्ने काम उपकुलपतिबाट भएकाले कडा रूपमा प्रस्तुत हुनुपरेको बताए । ‘उहाँहरू हाम्रो आवाजलाई दबाउने काममा लाग्नुभयो । त्यही भएर हामी अन्तिम लडाइँमा उपस्थित भएका छौँ । हामी प्राज्ञिक व्यक्ति भएकाले बन्द तोडफोडमा जाँदैनौँ । तर, अब ‘नैतिक बाध्यता’ कति सहने भन्नेमा पुगेका छौँ । यो अन्तिम लडाइँमा हाम्रा माग बेवास्ता गरिए दुई सय ५० फ्याकल्टी चिकित्सक, पाँच सय नर्स, तीन सय कर्मचारीले सामूहिक राजीनामा गर्नेछौँ,’ उनले भने ।

गत ३० जेठमा गिरीले हाडजोर्नी विभागका वरिष्ठ चिकित्सक डा. विष्णु पोखरेललाई प्रतिष्ठानको आन्तरिक सूचना चुहाएको र प्रतिष्ठानको अहितमा बोलेको आरोपमा कारबाही गर्ने धम्कीपूर्ण स्पष्टीकरण सोधेका थिए । चिकित्सकसँग धम्कीसहित स्पष्टीकरण मागिएपछि आन्दोलन थप चर्किएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *