अवरुद्ध अरनिको राजमार्ग खुलाउन पहल गर्न सभामुखद्वारा भौतिक पूर्वाधारमन्त्री नेम्वाङलाई आग्रह

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको लिपिङ पुलमा भएको क्षति र अवरुद्ध अरनिको राजमार्ग खुलाउन पहल थालेका छन् ।

शनिबार सभामुख सापकोटाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग तातोपानी–कोदारी क्षेत्रमा बाढीको कटानबाट भइरहेको क्षति न्युनिकरण गर्ने विषयमा संवाद गरेका हुन्।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुखले यातायातमन्त्री नेम्वाङलाई सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अवरुद्ध अरनिको राजमार्ग र लिपिङ पुलमा पुगेको क्षतिबारे ध्यानाकर्षण गराएका हुन् ।

न्यौपाने भने,‘गएरातिको अविरल बर्षाले सिन्धुपाल्चोकको भोटेकेशी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पुर्याएपछि सभामुख सापकोटाले यस विषयमा मन्त्री नेम्वाङमार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको हो । उहाँले जोखिममा परेका स्थानीको उद्धार, सुरक्षित बसोबास एवं बन्द सडक तत्काल सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराउनुभयो।’

सभामुखले स्थानीयको उद्धार, सुरक्षित बसोबास र सडकको अवस्थाको विषयमा चासो राखे लगत्तै मन्त्री नेम्वाङको निर्देशनमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ।

अवलोकनपछि महानिर्देशक थापाले केही दिनभित्रै बन्द सडक सुचारु गरिने जानकारी दिएका छन्। भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तरगतको सडक ठाउँ ठाउँमा भासिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *