हेलम्बु क्षेत्रमा लगातार वर्षा, अझै घटेन इन्द्रावती र मेलम्चीमा बाढी

काठमाडाैँ । मेलम्चीमा विनाशकारी बाढी आएको ६० घन्टा बितिसकको छ । तर, मेलम्चीवासीको आँखाबाट त्रास अझै हटेको छैन । न वासको ठेगान छ, न गाँसको । अझ, मेलम्ची र इन्द्रावती खोला केहीबेर घटेजस्तो हुने र फेरि बढिहाल्ने गरेकाले उनीहरू बेचैन छन् ।

गत आइतबारदेखि मडारिएको बादल अझै हटेको छैन । बिहीबार दिउँसो पनि बाढीग्रस्त क्षेत्रको आकाश मडारिएकै थियो । दिउँसै अँध्यारो परेजस्तो देखिन्थ्यो । हेलम्बु र पाँचपोखरी–थाङपालको यांग्री र लार्के क्षेत्रमा पहिरोका स्पष्ट संकेत अझै देखिएका छन् । मेलम्ची खोला र इन्द्रावती नदी अहिले पनि धमिलै छ । बालुवा र लेदो मिसिएको बाढी कुनै पनि वेला पुनः बस्तीमा पस्न सक्ने त्रास स्थानीयमा कायमै छ ।

मंगलबारको बाढीले मेलम्चीदेखि हेलम्बुको तिम्बुसम्मको भाग पर्ने तीनवटा पक्की पुल बगाएकाले टुटेको मेलम्ची, हेलम्बु र पाँचपोखरी–थाङपालबीचको सम्पर्क अझै जोडिन सकेको छैन । सञ्चार सम्पर्क अझै विच्छेद नै छ । मेलम्ची बजारदेखि एक किलोमिटर उत्तरसम्म मुस्किलले मोटरसाइकल जान्छ । बाढीसँगै बगेर आएको लेदो नपन्छ्याई आवतजावत गर्न सक्ने अवस्था छैन । बिहीबार बागमती प्रदेशका सांसद युवराज दुलाल, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेनसहितको टोलीले सडकको लेदो पन्छ्याएर सडक सुचारु गराउन प्रयास गरेका थिए । तर, मेलम्ची खेलामा पुनः बाढी आएकाले बीचैमा रोकियो । साँझ पुनः लेदो पन्छ्याएर मेलम्ची–हेलम्बु जोड्ने मूल सडक चलाउने प्रयास गरिए पनि पूर्ण रूपले सफल हुन सकेन । हिलो पन्छ्याएर चनौटेसम्म पुग्न सक्ने अवस्था भने बनेको छ ।

मेलम्ची दोभान र पुलबजारको पक्की पुल बगेकाले पाँचपोखरी–थाङपाल जाने रुट पनि अवरुद्ध छ । इन्द्रावती गाउँपालिकाका थुप्रै बस्ती, मेलम्ची र बाहुनेपाटीसँग टुटेका छन् । हेलम्बुको पाल्चोक क्षेत्रबाट पाँचपोखरी–थाङपाल पुग्ने यांग्रीको झोलुंगे पुल पनि बगाएकाले वारिपारि आउजाउ बन्द भएको छ । स्थानीय गाउँहरूबीच नै सम्पर्क विच्छेद हुँदा राहतको कामसमेत प्रभावकारी हुन सकेको छैन ।

तीन स्थानीय तहका थुप्रै बस्ती अहिले सम्पर्कविहीन भएकाले जोड्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बताए । त्यसका लागि प्रजिअ पोखरेल, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ, मेलम्ची नगरका प्रमुख डम्बरबहादुर अर्याल, हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पा, पाँचपोखरी–थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र सुरक्षा निकायका प्रमुखबीच बिहीबार छलफल भएको छ । सडक सम्पर्क नहुँदा विभिन्न ठाउँबाट आएका राहत हेलम्बु र पाँचपोखरीतर्फ लान नसकिएको जिसस प्रमुख तामाङले बताए ।

हेलम्बुमा सबैभन्दा बढी क्षति

बाढी अझै पनि आइरहेकाले क्षतिको पूर्ण विवरण संकलन हुन सकेको छैन । तर, तुलनात्मक रूपमा सबैभन्दा बढी क्षति हेलम्बुमा पुगेको देखिने स्थानीय जनप्रतिनिधिको भनाइ छ । हेलम्बु क्षेत्रबाट बेपत्ता भएका २० जनामध्ये १८ जना अझै फेला परेका छैनन् । प्रहरीका अनुसार दुई चिनियाँ नागरिकको शव फेला परेको छ । दुवैको सनाखत भएको छ । प्रजिअ पोखरेलले दुई चिनियाँ नागरिक यु ची झु र गोङ टियान छियोको शव भेटिएको बताए ।

हेलम्बुमा एक सय ५० घर बाढीले पुरेको छ । झन्डै ५० घर डुबानमा परेका छन् । दुई सय विस्थापित भएका छन् । करिब पाँच सय स्थानीय खोला किनारमा रहेका घर छोडेर भागेका छन् । विस्थापितमध्ये कोही किनारमाथिका गाउँमा, कोही छिमेकको शरणमा र कोही पाल टाँगेर खुला चौरमा बसेका छन् ।

मेलम्ची नगरका प्रमुख डम्बर अर्यालले ४० करोड रुपैयाँबराबरका विकास निर्माणका संरचना बाढीले ध्वस्त पारेको बताए । ‘मेलम्चीमा अर्बौँ रुपैयाँबराबरको भौतिक क्षति भएको छ,’ नगर प्रमुख अर्यालले भने, ‘४० करोडबराबरको नगरपालिकाले बनाएको संरचना ध्वस्त भएको छ ।’ उनले ७० घर पुरिएको, ३० घर नदीको कटानमा परेको र सय परिवार विस्थापित भएको जानकारी दिए ।

पाँचपोखरी–थाङपालका अध्यक्ष टासी लामाले दिएको जानकारीअनुसार यांग्री र लार्केको बाढीले तीन घर बगाएको छ । ६५ घरलाई कटान गरिरहेको छ । यांग्रीमा रहेको एक सय १० मिटर लामो झोलुंगे पुलसहित अन्य दुई खोलाको झोलुंगे पुल बगाएको छ । यांग्री एकेडेमी विद्यालयको दुईटा भवन, स्वास्थ्य एकाइ भवन र अन्य दुईवटा सरकारी भवन बगाएको छ । मेलम्ची, हेलम्बु र पाँचपोखरी–थाङपाल मात्रै होइन, गाउँगाउँ पुग्ने झोलुंगे पुल पनि बगाएकाले आवतजावत बन्द भएको छ ।

नेपाली सेनाले हेलम्बु पुर्‍यायो टेन्ट र खाद्यान्न
सडक मार्ग अवरुद्ध भएपछि नेपाली सेनाले हेलम्बुको किउलमा हेलिकोप्टरबाट खाद्यान्न र टेन्ट पुर्‍याएको छ । गणेशे बगरमा निजी जग्गा भाडामा लिएर नेपाली सेना र गाउँपालिकाका कर्मचारी मिलेर धमाधम टेन्ट ठड्याइरहेका छन् ।

गणेशे बगरमा पसल चलाउँदै आएकी स्थानीय सुप्रभा गिरीका अनुसार बाढीले घरखेत सबै बगाएर बिचल्लीमा परेका २० घरका लागि सेनाले टेन्ट खडा गरेको हो । उनीहरूका लागि केही दिनलाई पुग्ने रासन पनि सेनाले हेलिकोप्टरबाट किउलमा झारेको छ ।

टेन्ट ठड्याइरहँदा पनि हेलम्बु क्षेत्रमा वर्षात भइरहेकाले सबै विस्थापितका लागि वास बनाउन सकिएको छैन । हेलम्बु क्षेत्रमा बिहीबार अबेरसम्म पनि भारी वर्षात भइरहेकाले जोखिम कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *