धितोपत्र बोर्डले जलविद्युत् कम्पनीलाई जोखिमयुक्त भनेकोमा इपानको आपत्ति

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले वास्तविक अवस्थाको ख्याल नै नगरी नेपाल धितोपत्र बोर्डले विभिन्न जलविद्युत् कम्पनीको शेयर कारोवारमा जोखिम रहेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।

इपानले बिहीबार विज्ञप्तिमार्फत जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि मात्रै आम्दानी विस्तारै बढेर जाने तथा प्रतिशेयर मूल्य आम्दानी र प्रतिशेयर नेटवर्थ वृद्धि हुने उल्लेख गरेको छ ।

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकार, नेपाल राष्ट्र बैंकको सकारात्मक पहलपछि अन्य कम्पनीहरूको जस्तै जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको तथ्यलाई बोर्डले ख्याल नगरेको बताए ।

बोर्डले यही असार १ गते विभिन्न ५१ वटा कम्पनीको शेयरमा लगानी गर्नु जोखिमपूर्ण रहेको भन्दै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसमा २० वटा जलविद्युत् कम्पनी थिए ।

जलविद्युत क्षेत्रमा गलत भएका कुनै पनि विषयलाई सुधार गरेर जान इपान बोर्डलाई सहयोग गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ । उता बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालले पनि नियामक निकायले कारवाही गर्ने विषयलाई नजरअन्दाज गरी शेयरमा लगानी गर्नु जोखिम रहेको भनी सार्वजनिक गरेकामा ध्यानकर्षण भएको जनाएको छ ।

संस्थाका प्रवक्ता भोजबहादुर शाहले जारी गरेको विज्ञप्तिमा संस्थागत पहिचान र प्रतिष्ठामा आँच नपुग्ने र लगानीकर्तामा मनोवैज्ञानिक त्रास नहुने गरी बोर्डले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *