रामोसले छाडे रियल म्याड्रिड

प्रज्जवल थापा । १६ वर्षपछि कप्तान सेर्जियो रामोसले रियल म्याड्रिड छोडेका छन् । क्लबले बुधबार विज्ञप्ती जारी गर्दै रामोसले क्लब छोडेको जनाएको हो । यस्तै बिहीबार रामोसको बिदाइ कार्यक्रम रहेकोपनि क्लबले जनाएको छ ।

सन् २००५ मा सेभिल्लाबाट कलिलो उमेरमा म्याड्रिडमा भित्रिएका रामोस क्लबको लेजेण्डको रुपमा छोडेका छन् । १६ वर्षको रियल म्याड्रिड बसाइमा रामोसले ४ च्याम्पियन्स लिग, ४ फिफा क्लब विश्वकप, ३ युरोपियन सुपर कप, ५ ला लिगा, २ कोपा डेल रे र ४ स्पेनिस सुपरकप जितेका थिए ।

३५ वर्षिय रामोसको क्लबसँगको सझौता यहि जुन ३० मा सकिदैछ । खेलाडी र क्लबको बिचमा नयाँ सम्झौताको लागि सहमती हुन नसक्दा उनले क्लब छोडेका हुन् । क्लबले रामोसलाई थप एक वर्षको लागि १० प्रतिशत तलब कटौतीमा प्रस्ताव टेबलमा राखेको थियो तर रामोसले दुई वर्षको सम्झौता चाहेपछि खेलाडी र क्लबबिच सहमती नभएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । यससँगै उनी फ्रि-ट्रान्सफरको रुपमा अन्य क्लबमा भित्रिनेछ्न् । उनलाई क्लब ल्याउन म्यान्चेस्टर सिटी, पेरिस सेन्ट जर्मन र सेभिल्ला इच्छुक देखिएका छन् ।

दुवै बक्समा उत्कृष्ट रामोस

सेर्जियो रामोस दुवै बक्समा उत्कृष्ट रहने खेलाडी हुन् । डिफेन्डिङमा खप्पिस रामोस गोल गर्नपनि कुनै स्ट्राइकर भन्दा कमि छैनन् । रियल म्याड्रिडबाट ६ सय ७१ खेल खेलेका रामोसले १ सय १ गोल गरेका गरेका थिए । यस शताब्दीमा युरोपको शिर्ष ५ लिगमा १ सय गोल गर्ने रामोस एक मात्र डिफेन्डर हुन् । यस्तै यस शताब्दीमा म्याड्रिडबाट रामोसले भन्दा बढी गोल क्रिस्टियानो रोनाल्डो(४५०), करिम बेन्जिमा(२७९), राउल(२२५), गन्जालो हिगुयन(११९) र गेरेथ बेल(१०५)ले मात्र गर्न सकेका छन् ।

रामोसले २०१६/१७ को सिजनमा म्याड्रिडबाट १० गोल गरेका थिए । यस्तै २०१८/१९ को सिजनमा ११ गोल गरेका रामोसले अर्को सिजन १३ गोल गरेका थिए । यस्तै उनले २ सय ६ खेलमा क्लिन सिटपनि राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *