सुरुवाती मनसुनको बाढीले ७ को मृत्यु, २७ बेपत्ता

काठमाडाैँ । मनसुन सुरु हुनासाथ आएको बाढीपहिरोमा परी देशभर सातजनाको ज्यान गएको छ भने २७ जना बेपत्ता छन् । दर्जनौँ घर बाढीले बगाउँदा हजारौँ बासिन्दा विस्थापित भएका छन् ।

बाढीले सिन्धुपाल्चोकमा दुई र बाजुरा, पाल्पा, सप्तरी, कास्की, डोटीमा एक–एकजनाको मृत्यु भएको छ । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोेकमा २० जना बेपत्ता छन् । मेलम्ची र हेलम्बु क्षेत्रका करिब एक हजार बासिन्दा बाढीले विस्थापित भएका छन् ।

यता उद्धारको तयारी पनि सँगसँगै अघि बढेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारी एवं सुरक्षाकर्मी विपत्को जोखिमबाट जनतालाई बचाउने ‘देवदूत’ बनेका छन् । विपत् क्षेत्रमा पठाउन नेपाल प्रहरीसँग करिब आठ हजार, सशस्त्र प्रहरीसँग एक हजार पाँच सय र नेपाली सेनासँग एक हजार दुई सयजना विशेषज्ञ छन् । आफ्नो ज्यानको बाजी थापेर उनीहरू उद्धारमा खटेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन भारी वर्षा हुने जनाएकाले नदी आसपासका क्षेत्रमा पानीको बहाव बढ्ने, पहिरो र डुबानसमेत हुने खतरा कायमै छ । भौगर्भिक दृष्टिले कतिपय स्थानहरू पहिरोको उच्च जोखिममा रहेकाले त्यस्ता स्थानमा बढी सतर्कता अपनाउनुपर्ने र सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्नुपर्ने अवस्था छ । यिनै प्राकृतिक जोखिमसँग लड्न आवश्यक उपकरणसहित हाई अलर्टमा छन्, सुरक्षाकर्मी । विशेषज्ञसहित सुरक्षाकर्मीको टोली जोखिमपूर्ण क्षेत्रमा पुगेर रातदिन काम गरेका छन् । हरेक प्राकृतिक विपत्तिमा उनीहरू पीडितकहाँ पुगेका हुन्छन् ।

सम्भावित विपत्बाट पीडितलाई उद्धार गर्न तीनवटै सुरक्षा अंगलाई हाइअलर्ट रहन निर्देशन गरेको छ । निर्देशनअनुसार ७७ वटै जिल्लामा तीनवटै सुरक्षा अंगका सुरक्षाकर्मी तयारी अवस्थामा रहेका छन् । सरकारले स्थानीय तह, सम्बन्धित जिल्ला अधिकारी, सामाजिक संघसंस्थालाई तयारी अवस्थामा रहन निर्देशन गरेको छ । गृह मन्त्रालयको समन्वयमा सुरक्षाकर्मी परिचालन भएका छन् । सामाजिक संस्था परिचालन तथा उद्धारका बाँकी काम भने गृहअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा भइरहेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

सिन्धुपाल्चोक : मेलम्ची र इन्द्रावतीमा आएको बाढीले दुईको मृत्यु, २० बेपत्ता, एक हजार विस्थापित, हेलम्बु र पाँचपोखरी–थाङ्पाल क्षेत्रमा उद्धार टोली पुग्न पाएन

मनाङ : बाढीले ५३ घर बगायो, नासोँ गाउँपालिकाको कार्यालय, धारापानी सीमा प्रहरी चौकी, प्रभु बैंक र प्राइम कमर्सियल बैंकको भवन, थोंचे स्वास्थ्य चौकी र धारापानीका पाँचवटा होटेल बगायो

रसुवा : अविरल बर्षाका कारण पाँचवटा गाउँपालिकाका ३८ मानव बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिको निष्कर्ष । उच्च सतर्कता अपनाउन आह्वान ।

लमजुङ : दोर्दीखोलाको बाढीले हिलेबजारमा रहेका ११४ घरमध्ये ४५ घर बगाएको दोर्दी गाउँपालिका अध्यक्ष तुलबहादुर घलेको भनाइ । विस्थापितलाई स्थानीय फलेनी माविको भवनमा आश्रय दिइएको छ ।

सप्तरी : खेतमा काम गरिरहेका बुवा किसुनदेव भण्डारीलाई खाजा पुर्‍याउन गएका बेल्हीका १३ वर्षीय बालक सन्तोष भण्डारीको भुतही बलान खोलाले बगाएर मृत्यु, सीमापारि भारतमा भेटियो शव ।

डोटी : खानेपानी अवरुद्ध भएपछि बनाउन मुहानमा गएका बासुदेवी देउकाँडाका खड्कबहादुर बमको पहिरोले पुरिएर मृत्यु । उनीसँगै रहेका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पूजा कुँवर घाइते भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *