‘मिनि विश्वकप’ आजबाट शुरु, उद्घाटन खेलमा टर्की र इटाली भिड्दै

प्रज्जवल थापा । ‘मिनि विश्वकप’ भनेर चिनिने युरोकप फूटबल प्रतियोगिता आजबाट शुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्दैछन् । रोमस्थित ओलम्पिको रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको सुखद शुरुवात गर्न चाहन्छन् । २०१८ को फिफा विश्वकपको लागि छनोट हुन नसकेको इटाली युरो छनोटको सबै १० खेल जित्दै प्रतियोगिताको लागि छनोट भएको थियो । रोबेर्टो मान्चिनीले प्रशिक्षकको जिम्मेवारी समालेपछि इटालीले ३२ खेल मध्य २० खेलमा क्लिन सिट राखेको छ । यस्तै इटालीले पछिल्लो ८ खेलमा गोल बेहोरेको छैन ।

यता फिफा वरियताको २९ औं स्थानमा रहेको टर्की अन्डर डग टिम भन्दा फरक पर्नेछैन । टर्कीले छनोट खेलमा विश्वविजेता फ्रान्सलाई २-० गोलले स्तब्ध पार्दै दुई खेलमा ४ अङ्क खोसेको थियो । समूह ‘एच’ मा रहेको टर्की दोस्रो स्थानमा रहँदै युरोको लागि छनोट भएको थियो । टर्कीको उत्कृष्ट पक्ष भनेको डिफेन्स रहेको छ । छनोट अन्तर्गत भएको १० खेलमा टर्कीले मात्र ३ गोल बेहोरेको थियो ।

हेड टु हेड
खेल:- १०
इटाली विजयी:- ७
बराबर:- ३
टर्की विजयी:- ०

पछिल्लो पटक ठूलो प्रतियोगितामा दुई टोलीको भेट २००० को युरोमा भएको थियो । उक्त खेल इटालीले २-१ गोलले आफ्नो पोल्टामा पारेको थियो । आजको खेलमा इटाली आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ भने टर्की इटालिमाथि पहिलो जितको खोजिमा हुनेछ ।

एकसमय कोरोना भाइरसको हट स्पोट बनेको इटालीले युरोकप-२०२० को उद्घाटन खेल आयोजना गर्दैछ । इटालियन सरकारले रंगशाला क्षमताको २५% दर्शकलाई मैदान प्रवेशमा अनुमती दिएको छ । युरोकप आयोजना भएको ६० वर्षपछि पहिलो पटक प्रतियोगिता युरोपको ११ वटा छुट्टाछुट्टै देशमा हुँदैछ ।

एक महिना चल्ने प्रतियोगितामा २४ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई ६ वटा समूहमा बिभाजन गरिएको छ । हरेक समूहमा ४/४ टोली रहेका छन् । हरेक समूहका शिर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् । यस्तै तेस्रो स्थानमा रहने चार उत्कृष्ट टोलीपनि अन्तिम १६ मा पुग्नेछन् ।

प्रतियोगिताको पूरा खेलतालिका (नेपाली समयमा) हेर्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *