रातो पासपोर्ट बेचेको आरोपमा सर्वोच्चमा मुद्दा खेपिरहेका नारदमुनि राना वनमन्त्री नियुक्त

काठमाडा्ँ । प्रधानमन्त्री केपी ओलीले रातो पासपोर्ट बिक्री काण्डमा सर्वोच्चमा मुद्दा खेपिरहेका नारदमुनि रानालाई वनमन्त्री नियुक्त गरेका छन्  । रानाको पासपोर्टमा अस्ट्रेलिया गएका व्यक्ति ११ वर्षदेखि उतै छन् ।

पहिलो संविधानसभामा निर्वाचित भएर सभासद् भएपछि पाएको रातो पासपोर्ट  बिक्री गरेको अभियोगमा रानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जिल्ला अदालत काठमाडौंमा  छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए ।

सिआइबीले ०६८ सालमा रानालाई पक्राउ गरी केही दिन हिरासतमा राखेर मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले उनलाई सफाइ दिएपछि मुद्दा सर्वोच्चमा पुगेको छ ।

रातो पासपोर्टमा सजिलै भिसा लाग्ने भएकाले सभासद्को पासपोर्टमा अन्य व्यक्तिको फोटो टाँसेर मानव तस्करी गर्ने गिरोह पहिलेदेखि नै नेपालमा सक्रिय छ । यसरी विदेश पठाउँदा व्यक्तिबाट १४ लाखसम्मको लेनदेन भएको सिआइबीको अनुसन्धानमा खुलेको थियो ।

सर्लाहीका सन्तोष उप्रेती नेतृत्वको गिरोहले सभासद्को रातो पासपोर्टमा मानव तस्करी गरेको थियो । त्यसका लागि करिब चार लाख रुपैयाँ पासपोर्ट दिने सभासद्लाई उपलब्ध गराइएको थियो ।

यो गिरोहले ‘नेप्लिज फोरम फर ह्युमन राइट्स एन्ड पिपुल्स डेमोक्रेसी’ नामक संस्थाले सभासद्हरूलाई विदेशमा हुने गोष्ठीमा बोलाएको भनेर नक्कली निमन्त्रणापत्र पेस गरी अस्ट्रेलिया, क्यानाडालगायतका देशबाट भिसा लिने गरेको थियो । कूटनीतिक पासपोर्ट भएका व्यक्तिलाई दूतावासले पनि सहजै भिसा दिने भएकाले दुरुपयोग गरिएको छ ।

अख्तियारको अनुसन्धानअनुसार रानाको पासपोर्टमा म्याग्दीका निर्मल बानियाँ र शिवपुजनको पासपोर्टमा म्याग्दीकै केदार पौडेल नक्कली सभासद् बनेर विदेश उडेका थिए । उनीहरू अहिले पनि अस्ट्रेलियामै छन् ।

बानियाँ र पौडेल ११ डिसेम्बर २०१० मा अस्ट्रेलिया उडेका थिए । सिआइबीले अस्ट्रेलियन प्रहरीसँग सहकार्य गरे पनि उनीहरू पक्राउ परेका छैनन् । उनीहरूसँगै सांसद नारदमुनि सत्तारुढ दलको नेता भएकाले पनि प्रहरीले यसमा चासो नदिएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *