अष्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई मौका दिइने

फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ को छनोट अन्तर्गत भोली(शुक्रबार) हुने अष्ट्रेलियाविरुद्धको खेलमा युवा खेलाडीलाई मौका दिने नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताएका छन् ।

बिहीबार भएको प्रेस कन्फ्रेन्समा बोल्दै अल्मुताइरीले अष्ट्रेलिया बलियो टोली भएपनि युवा खेलाडी खेलाउने बताएका हुन् । उनले भने, ” सबै कुरा राम्रो भयो भने अष्ट्रेलिया विरुद्ध युवा खेलाडीहरु खेल्नेछन् । मलाई थाहा छ अष्ट्रेलियासँग खेल्न गार्हो छ तरपनि उनीहरुलाई खेल्न जरुरी छ ।” अल्मुताइरीले थपे, ” आशा गरौ भोलि राम्रो खेल्नेछौ । हाम्रो खेल्ने तरिकामा परिवर्तन आएको छ जसले गर्दा समर्थकहरुपनि खुशी छन् ।”

यता अष्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डलेपनि नेपालसँग खेल्न आफुहरु उत्साहित रहेको बताएका छन् । ग्राहमले भने, ” अहिले नेपालको खेल्ने तरिकामा परिवर्तन आएको छ । उनीहरु पछाडिबाट धेरै खेलिरहेका छन् । नेपालको प्रशिक्षकले राम्रो गरिरहेका छन् र नेपाललाई हामी सम्मान गर्छौ । उनीहरु कडा मिहिनेत गर्ने टिम हुन् ।”

यस्तै ग्राहमले नेपालविरुद्ध केहि खेलाडी परिवर्तन गर्ने बताएका छन् । ” नेपालविरुद्ध नयाँ खेलाडीले मौका पाउनेछन् । हामीसँग चार गोलकिपरसहित २९ खेलाडीहरु छन् । उनीहरुबाट राम्रो प्रदर्शनको आशा राखेको छु ।”

नेपालले शुक्रबार छनोटको अन्तिम खेलमा अष्ट्रेलियाको सामना गर्नेछ । जाबेर अल अहमेद रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ ।

-एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *