काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले नांगो रुपमा संसद विघटन गरिएकाले पुनः स्थापना हुने बताएका हुन् ।
अदालतले पनि संविधान हेर्ने भएकाले संसद पुनःस्थापना नहुने कारण नभएको बताए । उनले भने, ‘अदालतले पनि अन्ततः हेर्ने भनेको संविधान हेर्ने हो । ओलीले ५ पुसमा पनि संसद विघटन गरे, हामीले लडेर संसद फिर्ता ल्यायौँ, त्यतिबेला पनि मैले हामी जिउँदै छौँ भनेको थिएँ, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, संसद पुनःस्थापना हुन्छ ।’
अध्यक्ष प्रचण्डले अदालतबाट संसद पुनःस्थापना हुने र त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरताको सरकार बन्ने बताए । उनले अहिलेको लडार्इँ संविधान र यसभित्र भएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने मुख्य चुनौती रहेको बताए । अध्यक्ष प्रचण्डले केपी ओली र उनीसँग सम्बद्ध शक्तिले माओवादीलाई एक्ल्याउने प्रयास गरिरहेको बताए ।
