काठमाडाैँ । नदी दोहन रोक्न र चुरे संरक्षणको दीर्घकालीन नीति बनाउन सर्वसाधारणको आग्रह, संसदीय समितिको निर्देशन र सर्वोच्च अदालतले दिएको आदेश बेवास्ता गर्दै सरकारले महाभारत पहाड उत्खनन गर्ने नीति ल्याएको छ । पूर्व मोरङदेखि पश्चिम डडेल्धुरासम्म १४ जिल्लाका ९२ ठाउँका पहाड उत्खनन गरेर ढुंगा, गिटी र बालुवा भारत निर्यात गर्ने सरकारी नीति छ ।
सरकारले अहिले बजेटमार्फत सार्वजनिक गरेको नीतिले चुरे र तराईमा फरक नपर्ने दाबी दोहोर्याइरहेको छ । तर, भारत र बंगलादेशसम्म निर्यात गर्ने गरी ९२ ठाउँमा उत्खनन गर्दा त्यसले पहाड, चुरे र तराईमा विनाश ल्याउने भन्दै सरोकारवालाहरू चिन्तित छन् ।
सरकारको निर्देशनअनुसार खानी तथा भूगर्भ विभागले मोरङ, धनकुटा, उदयपुर, सिन्धुली, ललितपुर, मकवानपुर, चितवन, अर्घाखाँची, पाल्पा, प्युठान, सल्यान, सुर्खेत, डोटी र डडेल्धुराका विभिन्न पहाडबाट ढुंगा, गिटी उत्खनन गर्ने टुंगो लगाएको हो । यस्ता पहाड खनेर ढुंगा, गिटी र बालुवा निकासी गर्ने र व्यापार घाटा घटाउने सरकारी योजना छ ।
डडेल्धुराको तत्कालीन शीर्ष गाविसका मार्कु, चाँकी, तोडिना, कटाल सिमल्टा, गोगन र सलुन गरी ६ डाँडा पहिचान गरेको छ । यी डाँडा अहिले परशुराम नगरपालिकाका ३ र ४ मा पर्छन् ।
डोटीको तत्कालीन छतिवन गाविस र अहिलेको जोरायल गाउँपालिका– २ मा पर्ने रुवसकाँडा डाँडोलाई ६ ठाउँमा उत्खनन गर्ने सरकारको योजना छ । सुर्खेतको गुर्भाकोट नगरपालिका– ९ स्थित माथिल्लो भालुखोला र बथान डाँडा छनोट गरिएका छन् । यी डाँडा साबिकको सहारे गाविसको ७, ८ र ९ नम्बर वडामा पर्छन् । सल्यानको तत्कालीन धनवाङ गाविस र अहिलेको कपुरकोट गाउँपालिका– ४ मा पर्ने थरकोट लेक र लामिडाँडाबाट उत्खनन गरिनेछ । यहाँ ६ वटा खानी पहिचान गरिएका छन् ।
त्यस्तै, प्युठानको सरुमारानी गाउँपालिका– ६ को सरुमारानी लेकलाई ६ ठाउँमा उत्खनन गरिनेछ । यो लेक तत्कालीन तिराम गाविसको वडा नम्बर ६, ७ र ८ मा पर्छ । अर्घाखाँचीको तत्कालीन ठाडा गाविस– ७ र ८ नम्बर वडा तथा अहिलेको शीतगंगा नगरपालिका– ३ मा पर्ने विभिन्न डाँडा पहिचान गरिएका छन् । यी डाँडामा ६ वटा खानी रहेको भूगर्भ विभागको भनाइ छ ।
विभागले पाल्पाका दुई डाँडाका आठ ठाउँ उत्खननका लागि पहिचान गरेको छ । साबिकको मस्याम गाविस तथा अहिलेको तिनाउ गाउँपालिका– ५ मा रहेको मराङकोट र वडा नम्बर ६ स्थित जन्तिलुहुङ डाँडोबाट उत्खनन गरिनेछ । चितवनको तत्कालीन दारेचोक गाविस– ४ र अहिलेको इच्छाकामना गाउँपालिका– ४ मा पर्ने कुरिनभित्ता क्षेत्र छनोट गरिएको छ । यी क्षेत्रमा सातवटा खानी पहिचान गरिएका छन् ।
मकवानपुरका पाँच डाँडा पहिचान गरिएका छन् । साबिकको भैँसे गाविस–८ र अहिलेको भीमफेदी गाउँपालिका– १ मा पर्ने किसेरी, सानुटार, नयाँगाउँ, किटेनी र बुङदल डाँडाबाट उत्खनन गरिनेछ । यहाँ पाँचवटा खानी पहिचान गरिएका छन् । ललितपुरको तत्कालीन चौघरे गाविस र अहिलेको कोन्जोस्योम गाउँपालिका– १ स्थित चौघरे डाँडोमा ६ ठाउँमा खानी पहिचान गरिएको छ । त्यस्तै, सिन्धुलीको तत्कालीन तिनकन्या गाविस र अहिलेको गोलन्जोर गाउँपालिकाका दुई तथा साबिकको रानीचुरी गाविस र अहिलेको कमलामाई नगरपालिका दुई गरी चार डाँडा पहिचान गरिएका छन् ।
त्यस्तै, उदयपुरको जाल्पा चिलाउने गाविस र अहिलेको त्रियुगा नगरपालिका– १६ स्थित सिरवानी र सुकौरा डाँडा पहिचान गरिएका छन् । यहाँ पाँचवटा खानी पहिचान गरिएका छन् । धनकुटामा १२ वटा खानी पहिचान गरिएका छन् । साँगुरीगढी गाउँपालिकाको वडा नम्बर ६ र ८ मा पर्ने पाथीभरा डाँडा, साँगुरीगढी डाँडा, रनफने डाँडा उत्खनन गरिनेछ । यी डाँडा साबिकका भेडेटार र महाभारत गाविसमा पर्छन् ।
त्यस्तै, मोरङको तत्कालीन भोगटेनी गाविसको वडा नम्बर ४ र ६ पर्ने तथा अहिलेको लेटाङ नगरपालिका–१ स्थित गोपिनी भन्ज्याङ उत्खनन गरिनेछ । साबिकको सिंहदेवी गाविसको वडा नम्बर १ र ९ तथा अहिलेको केराबारी गाउँपालिका–२ मा पर्ने बत्तीसजुरे डाँडोमा पनि डोजर चलाइनेछ । यी दुई डाँडाका पाँच ठाउँमा खानी पहिचान गरिएको समाचार नयाँ पत्रिका दैनिमा छापिएकाे छ ।
