ओलीलाई माधव नेपाल पक्षको जवाफः गलत बाटो परित्याग नगरी एकता प्रस्ताव अस्वीकार्य(वक्तव्यसहित)

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गलत बाटो परित्याग नगरेको र ६ बुँदेका नाममा अनेकता सिर्जना गर्न खोजेको भन्दै एकता प्रस्तावका लागि शर्त अस्वीकार गर्ने बताएको छ ।

सोमबार स्थायी कमिटीको बैठक बसेर नेपाल पक्षले अध्यक्ष ओलीको प्रस्ताव छलछामपूर्ण भएकाले अस्वीकार गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत् बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष केपी ओलीद्वारा जारी वक्तव्यको बुँदा नं. १ नै पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित देखिएको छ । यही बुँदामा, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण २०७५ साल जेठ ३ गते भएकोले सर्वोच्च अदालतबाट नेकपा (एमाले) पुनर्जीवित हुने फैसला भएकाले जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्ररुपमा कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गते पूर्व भन्दै अल्मल्याउने भाषा प्रयोग भएको छ । साथै नेकपा (एमाले) २०७५ साल जेठ २ गते पूर्वको स्थितिमा कायम हुने कुरा नगरी “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा” उभिएका व्यक्तिहरुलाई “आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने” कुरा गर्दै यथार्थमा पार्टीलाई २०७५ साल जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप हुने कुरा गरिएको छ । यस्तो कुरा पार्टी एकता कायम गर्ने मनसायबाट आएको भन्ने कदापि देखिन्न । यो अस्वीकार्य छ ।’

नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका नाममा अघि सारेको प्रस्ताव जालझेल, भ्रम र अल्मल्याउने षडयन्त्र भएको प्रस्ट पारेको छ ।

सो पक्षले प्रधानमन्त्री समेत रहेका ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न पार्टीका नेता कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई आग्रह समेत गरेको छ ।

वार्ता, मेलमिलाप र सिद्धान्तनिष्ट एकताको पक्षमा रहेको भन्दै ओलीले प्रतिनिधि सभाको असंवैधानिक विघटनको निर्णयलाई सच्याउनुको साटो सर्वोच्च अदालतमा प्रतिनिधि सभाको पुनःस्थापनाका लागि दायर रिट निवेदनको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वशर्तले ओली एकताको पक्षमा नरहेको स्पस्ट भएको उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *