धनुषामा जेठ ३१ गतेसम्म थपियो निषेधाज्ञा

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि सोमबार थप गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जिल्लाभरि जेठ ३१ गते राति १२ बजेसम्मका लागि पाँचौ पटक निषेधाज्ञा थपिएको जानकारी दिए ।

यसअघि जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले यही जेठ २४ गते अर्थात् आज राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । सरकारले हालै जारी गरेको कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ ।

निषेधाज्ञा उलङ्घन गर्ने र अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्था अनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ वास्तोलाले बताए ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लाभित्र कोभिड-१९ को नयाँ भेरियन्टको सङ्क्रमण दरमा क्रमशः सामान्य सुधार देखिएता पनि सङक्रमणको जोखिम अझै कायम रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *