मेलम्चीमा सरकारकाे उल्टाे कामः हतारमा उद्घाटन, अहिले परीक्षण

काठमाडाैँ । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब दुई महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको बुझ्न सकिन्छ । संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आयोजना हतारमा उद्घाटन र शिलान्यास गरेको भनी आरोप लाग्दै आएको छ ।

प्रधानमन्त्री ओलीको दबाबकै कारणले सुरुङमा पानी खाली गरेर आवश्यक टेस्टिङ (परीक्षण) बिनै मेलम्चीको पानी उपत्यकावासीका घरघरमा पठाइएको थियो ।  प्रधानमन्त्री ओलीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमबीच मेलम्चीको पानी वितरण औपचारिक रूपमा उद्घाटन गरेकी थिइन् ।

सरकारले काम गरेको देखाउने, निर्वाचन भए सोझासाझाबाट मत तान्ने र इतिहासमा आफ्नो नाम राख्ने इच्छाका कारण उनले जथाभाबी तरिकाले आयोजनाको शिलान्यास र उद्घाटन गरेको भनेर चर्चा हुने गरेको छ ।  मेलम्चीको पछिल्लो परिस्थितिले ओली सरकारले आयोजनाका सम्पूर्ण काम पूरा नहुँदै परीक्षणका रूपमा पानी वितरण गरेको अवसर छोपेर उद्घाटन गरेको संकेत गर्छ ।

आयोजनाका एक उच्च अधिकारीका अनुसार सम्पूर्ण निर्माण कार्य र परीक्षणका काम सकेर नियमित रूपमा पानी वितरण सुरु गरेपछि मात्र आयोजनाको उद्घाटन हुनुपर्ने हो । तर काठमाडौं उपत्यकामा परीक्षणका रूपमा पानी झर्नेबित्तिकै सरकार उद्घाटनमा आतुर देखियो । ती अधिकारीले पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण सरकारको आयु अनिश्चित नभएपछि प्रधानमन्त्री ओली मेलम्ची आयोजना उद्घाटनका लागि हतारिएको बताए ।

‘लामो समयदेखि चर्चामा रहेको मेलम्ची आयोजना आफ्नो पालामा सम्पन्न भएको देखाउन जुनसुकै राजनीतिक दल पनि लालायित थिए । यसमा अहिले ओलीले बाजी मार्ने काम गरे,’ ती अधिकारीले भने, ‘पछिल्लो समय आयोजनाको निर्माण चाँडो सक्न ओली आफैंले चर्को दबाब दिएका थिए ।’

ती अधिकारीका अनुसार आयोजनाको सम्पूर्ण परीक्षण पूरा नभई राजधानीमा पानी वितरण सुरु गरिएको थियो । यही कारण अहिले फेरि ४० देखि ५५ दिनसम्म पानी वितरण रोकेर परीक्षण सुरु गर्नुपरेको हो । आयोजनाको बेलाबेलामा परीक्षण र मर्मत हुनु स्वाभाविकै हो । तर सबै परीक्षण सकेर मात्र नियमित रूपमा पानी वितरण सुरु गरेको भए यति छिट्टै फेरि रोक्नुपर्ने अवस्था आउँदैनथ्यो । आयोजनाले आगामी असार १ देखि सुरुङमार्गको प्राविधिक निरीक्षण तथा सुपरीवेक्षण गर्ने कार्यतालिका बनाएको छ । यसका लागि ५५ दिनदेखि दुई महिनासम्म लाग्ने र यो अवधिमा पानी वितरण रोकिने जनाइएको छ ।

खानेपानी मन्त्रालयका अर्का एक उच्च अधिकारी प्रधानमन्त्रीको चर्काे दबाबकै कारण आयोजनाको टेस्टिङ एन्ड कमिसनिङको सम्पूर्ण प्रोटोकल पूरा नगरी मेलम्चीको पानी उपत्यकावासीलाई वितरण गरिएको बताउँछन् । ‘मेलम्ची आयोजना २५ वर्ष ढिलो हुँदा पनि केही भएन । तर २५ दिन टेस्टिङको प्रक्रिया पर्खनसमेत राजनीतिक नेतृत्व तयार भएन,’ उनले भने, ‘अब फेरि मेलम्चीको सम्पूर्ण पानी  नै ठप्प पारेर परीक्षण गर्नुपर्ने बेला भएको छ ।’ याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *