युरो कपको सार्वधिक गोलकर्ता बन्न रोनाल्डो एक गोल टाढा

प्रज्जवल थापा । युरो कप, विश्वकपपछि सबैभन्दा धेरै दर्शकले हेर्ने फूटबल प्रतियोगिता । झण्डै ५ वर्षको पर्खाइपछि युरोपेली राष्ट्रहरुको सहभागिता रहने युरोकप यहि जुन १२ बाट शुरु हुँदैछ । गत वर्षनै हुनेपर्ने प्रतियोगिता कोरोना भाइरस महामारीको कारण एक वर्षपछि धकेलिएको थियो । युरोकपलाई लिएर धेरै समर्थकहरु उत्साहित छन् । युरोकपमा थुप्रै स्टार खेलाडीको सहभागिता रहनेछ । तर धेरैको नजर भने सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोमा हुनेछ ।

पोर्चुगलका कप्तान रोनाल्डो यसपटक उपाधि रक्षा गर्ने लक्ष्यसहित प्रतियोगिताको लागि तयारी गरिराखेका छन् । २०१६ मा पोर्चुगलले फाइनललाई फ्रान्सलाई पराजित गर्दै उपाधि उचालेको थियो । तर रोनाल्डोले चोटको कारण फाइनलमा ३० मिनेटपनि खेल्न सकेनन् । रोनाल्डो पाँचौ पटक युरोकप खेल्न लागेका छन् र उनलाई यसपटक इतिहास बनाउने अवसरपनि रहेको छ ।

हालसम्म युरो कपमा ९ गोल गरिसकेका ३६ वर्षिय रोनाल्डोले यस संस्करणमा एक गोल गरेको खण्डमा प्रतियोगिताको इतिहासकै सार्वधिक गोलकर्ता बन्नेछन् । हाल रोनाल्डो र फ्रान्सका मिचेल प्लाटिनीको समान ९/९ गोल सङ्ख्या रहेको छ । यस्तै फ्रान्सकै फर्वार्ड एन्टोइन ग्रिजमनपनि सार्वधिक गोलकर्ताको सुचिमा ६ गोल सहित चौथो स्थानमा छन् ।

युरोकपमा सार्वधिक गोल गर्ने खेलाडीको सुची

क्र.स    खेलाडीको नाम     देश   गोल सङ्ख्या             प्रतियोगिता
१ मिचेल प्लाटिनी फ्रान्स ९ १९८४
२ क्रिस्टियानो रोनाल्डो पोर्चुगल ९ २००४, २००८, २०१२, २०१६
३ एलन शेअरेर इङ्ल्याण्ड ७ १९९२, १९९६, २०००
४ एन्टोइन ग्रिजमन फ्रान्स ६ २०१६
५ रुड भान निस्टेलरोय नेदरल्याण्ड्स ६ २००४, २००८
६ प्याट्रिक क्लुइभेर्ट नेदरल्याण्ड्स ६ १९९६, २०००
७ वायन रोन्नी इङ्ल्याण्ड ६ २००४, २०१२, २०१६
८ थिएरी हेन्री फ्रान्स ६ २०००, २००४, २००८
९ जाल्टन इब्राहिमोभिक स्वेडेन ६ २००४, २००८, २०१२, २०१६
१० नुनो गोमेज पोर्चुगल ६ २०००, २००४, २००८
११ साभो मिलोसेभिक युगोस्लाभिया ५ २०००
१२ मार्को भान बास्टेन नेदरल्याण्ड्स ५ १९८८, १९९२
१३ मिलन बारोस चेक रिपब्लिक ५ २००४, २००८, २०१२
१४ जुर्गेन क्लिन्समेन वेस्ट जर्मनी ५ १९८८, १९९२, १९९६
१५ फेर्नान्डो टोरेस स्पेन ५ २००४, २००८, २०१२
१६ मारियो गोमेज जर्मनी ५ २००८, २०१२, २०१६
१७ जिनेदिन जिदान फ्रान्स ५ १९९६, २०००, २००४

यस्तै यसपटक एक गोल गरे रोनाल्डो पाँच वटा युरोकप संस्करणमा गोल गर्ने पहिलो खेलाडीपनि बन्नेछन् । २००४ मा युरोकपमा डेब्यु गरेका रोनाल्डोले २००८, २०१२ र २०१६ मा गरि कुल २१ खेल खेलिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *