पार्टी अध्यक्षको वक्तव्य पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको होः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट जारी गरिएको वक्तव्य पार्टी एकताका लागि नआएको टिप्पणी गरेकी छन् ।

आइतबार राति अध्यक्ष ओली वक्तव्यकाबारेमा सामाजिक संजालमार्फत टिप्पणी गर्दै झाँक्रीले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको बताएकी हुन् ।

उनले भनेकी छन्, ‘भर्खरै मिडियामा अध्यक्ष क. खड्गप्रसाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो । सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुँदै पढेँ । पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उद्देश्यका लागि थियो र एकता भंग पनि खास उद्देश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ । अब रह्यो नेकपा एमालेको एकताको कुराः यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बीचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो । एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन । झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ । अझ गम्भीर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ । यो कसले फिर्ता लिने ? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होइन र ?’

त्यस्तै झाँक्रीले लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनःस्थापना गर्न आफूहरु अदालत गएको भन्दै हस्ताक्षर फिर्ता नलिने बताकएकी छन् ।

उनले भनेकी छन्,‘ लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनःस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चितता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन । त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो । यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु । विकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिबारे हाम्रो पार्टीको स्थायी कमिटीको बैठक बसी संस्थागत धारणा दिइनेछ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *