सचेत भए बच्न सकिन्छ कालो ढुसीबाट, औषधि पनि ल्याउने क्रम जारी

काठमाडाैँ । नेपालमा कोरोना सङ्क्रमण भइसकेका बिरामीमा कालो ढुसीको सङ्क्रमणसमेत देखा परेको छ । समयमै सचेत भए कालो ढुसीबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न स्थानमा गरी १० जनामा कालो ढुसी रोग लागेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना सङ्क्रमण भई उपचार गराइरहेका र निको भइसकेकाहरूमा कालो ढुसीको रोग लागेको जानकारी दिए ।

डा. पौडेलका अनुसार हालसम्म वीरगञ्ज, काठमाडाैँ, नेपालगञ्ज, कैलालीलगायतका ठाउँमा कालो ढुसीका रोगी पाइएको जानकारी छ । कालो ढुसी प्राणघातक भएकाले सचेत रहनुपर्ने उनको भनाइ छ ।

केही दिनअघिसम्म कालो ढुसीको औषधिसमेत नपाइरहेको अवस्थामा सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)लाई आग्रह गरेर एक हजार भाइल औषधि ल्याइसकेको छ । प्रवक्ता डा. पौडेलले तत्काल थप दुई हजार भाइल औषधि ल्याउने तयारी भइरहेको जानकारी पनि दिए । उनले स्वास्थ्य सेवा विभागमार्फत १० हजार भाइल औषधि खरिद गर्ने तयारी भइरहेको जानकारी दिए ।

वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुण्डी पौडेलले कालो ढुसी रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउँदै यसको सङ्क्रमण बढ्दै जाँदा शरीरका विभिन्न अङ्गमा क्षति पु-याउने जानकारी दिए । डा. पौडेलले कालो ढुसीको सङ्क्रमण भएका बिरामीमा ज्वरो आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्नेलगायतका लक्षण देखिने जानकारी दिए । उनले यो रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा देखिने भन्दै रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने बताए ।

मधुमेह रोग भएका व्यक्ति तथा एन्टिबायोटिक र स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरू कालो ढुसीको सिकार हुने भएकाले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक तथा स्टेरोइडजस्ता औषधि सेवन नगर्न उनले आग्रह गरे । डा. पौडेलले कालो ढुसीको सङ्क्रमणबाट बच्न सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्क पुनः प्रयोग नगर्ने, नियमित रूपमा हात धुने, धेरै धुलो भएको स्थानमा नजाने, ओसिलो ठाउँमा पनि रोगको सङ्क्रमण हुने भएकाले ओसिलो ठाउँमा नजान आग्रह गरे ।

उनका अनुसार कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भन्दै शरीरमा रोग प्रतिरोधात्मक क्षमता नभएको अवस्थामा कालो ढुसीले सङ्क्रमण गर्ने जानकारीसमेत गराए । कालो ढुसीका लक्षणहरूमा ज्वरो आउने, आँखा, नाक सुन्निने, नाक वरिपरिको छाला कालो हुने, नाकबाट बाक्लो सिँगान आउने, मुख, नाक तथा आँखा वरिपरि दुख्ने, आँखाले धमिलो देख्ने, आँखा सुन्निनेजस्ता लक्षण देखा पर्ने उनले बताएकाे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *