प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ र एसियन कप छनोट-२०२३ अन्तर्गत भएको समूहचरणको खेलमा अष्ट्रेलियाले लगातार पाँचौ जित निकालेको छ । बिहीबार राति भएको खेलमा अष्ट्रेलियाले कुवेतलाई ३-० गोल अन्तरले पराजित गर्दै छनोटको अर्को चरण पुग्ने सम्भावना लगभग पक्का गरेको हो ।
जाबेर अल अहमेद रंगशालामा भएको खेलमा अष्ट्रेलियालाई जित दिलाउन माथेउ लिक्की, ज्याकसन इर्भिने र एज्डिन ह्रुस्टिकले एक/एक गोल गरे । अष्ट्रेलियाले पहिलो मिनेटमै खेलमा अग्रता लिएको थियो । माथेउ लिक्कीले गोल गर्दै अष्ट्रेलियालाई शुरुवाती अग्रता दिलाएका थिए ।
२४ औं मिनेटमा ज्याक्सन इर्भिनेले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए । यस्तै ६६ औं मिनेटमा एज्डिन ह्रुस्टिकले गोल गर्दै अष्ट्रेलियालाई ३-० गोलको जित दिलाए । जितसँगै अष्ट्रेलिया ५ खेलबाट १५ अङ्क जोड्दै समुहको शिर्ष स्थानमा रहेको छ । पराजित कुवेत ६ खेलबाट १० अङ्क जोड्दै दोस्रो स्थानमा यथावत छ ।
यस्तै बिहीबार राति छिटोगरि सम्पन्न भएको खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
