वेल्समाथि फ्रान्सको शानदार जित

प्रज्जवल थापा । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्व विजेता फ्रान्सले शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले वेल्सलाई ३-० गोलले पराजित गरेको हो ।

एल्लिनाज रिभिएरामा भएको खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पे, एन्टोइन ग्रिजमन र ओसुमाने डेम्बेलेले एक/एक गोल गरे । खेलको २६ औं मिनेटमै निको विलियम्सले रातो कार्ड खादै मैदान बाहिरिएपछि वेल्स बाँकी समय १० खेलाडीमा रहेर खेलेको थियो । २७ औं मिनेटमा करिम बेन्जिमा पेनाल्टीमा चुक्दा फ्रान्सले खेलमा अग्रता लिने मौका गुमाएको थियो । बेन्जिमा झण्डै ६ वर्षपछि राष्ट्रिय टोलीको जर्सिमा उत्रिएका थिए ।

तर ३५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई खेलमा अगाडि बढाए । ४८ औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । यस्तै ७९ औं मिनेटमा डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३-० गोलको शानदार जित दिलाए । युरोकप-२०२० को तयारीमा रहेका दुवै टोलीले मैत्रीपूर्ण खेल खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *