गिटी बालुवा निकासी गर्ने सरकारको योजना वातावरणीय हिसाबले घातकः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले व्यापार घाटा न्यूनीकरणका लागि भन्दै गिटी बालुवा निकासी गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार विज्ञप्ति जारी गरी अध्यक्ष यादवले सरकारको योजना राष्ट्रघाती भएको बताएका हुन् । उनले भनेका छन्, ‘हालै सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको लागि आएको बजेट वक्तव्यमा खानीजन्य ढुङ्गा, गिटी, बालुवा निर्यात अथवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ र निजी क्षेत्रको संलग्नतामा चुरेक्षेत्रमा बसोवास गराउने, वन विनास गरी होटल, मोटल, रिसोर्ट आदि खोल्ने भनिएकोमा यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको यस नीति, कार्यक्रम र योजना वातावरणीय हिसाबले घातक रहेको छ । यसबाट नवधनाढ्य देखि व्यवसायीलाई त फाइदा नै होला तर, यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई÷मधेशमा ठूलो प्राकृतिक संकट आउने छ । यसले नकारात्मक पर्यावरणीय असर पार्ने छ ।’

अध्यक्ष यादवले यसको मूल्य तराई/मधेशमा वसोवास गर्ने जनताले चुकाउनु पर्ने बताएका छन् । उनले सकारको योजनाले चुरे विनास गर्ने, तराई/मधेशलाई मुरुभूमिकरण गर्ने निश्चित रहेको उल्लेख गरेका छन् ।

यादवले भनेका छन्, ‘भविष्यमा मधेशका भूमिको उर्वरता समाप्त भई जनताको जीवन नै संकटमा पर्ने भएको हुँदा भरपर्दो वैज्ञानिक, पर्यावरणीय तथा वातावरणीय अध्ययन नगरी ल्याइएको ढुङ्गा, गिटी, वालुवा आदि उत्खनन् गरी निर्यात गर्ने कार्य बन्द गरिनु पर्छ । अन्यथा वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, चुरे संरक्षण र तराई÷मधेशलाई मरुभूमिकरण हुने कार्यबाट जोगाउन र त्याहाँका जनताले आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्न बाध्य हुनु पर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *