काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिन फिङले अनुदानमा दिने घोषणा गरेको १० लाख डाेज खाेपमध्ये साढे ८ लाख खोप काठमाडाैँ ल्याइएकाे छ । परराष्ट्र मन्त्रालयले चिनियाँ अनुदानमा प्राप्त ८ लाख ५० हजार ४ सय मात्रा खाेप तथा सिरिञ्ज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिसकिएकाे जनाएकाे छ ।
८ लाख डाेज खाेप लिएर नेपाल वायुसेवा निगमको जहाज बेइजिङबाट आज अपराह्न काठमाडौँ आएकाे हाे भने हिमालयन एअरलाइन्सले ५० हजार ४ सय खाेप युनान प्रान्तकाे राजधानी सहर खुनिमिङबाट बिहानै काठमाडाैँ ल्याएकाे हाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सीले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।
बेइजिङस्थित नेपाली राजदूताबासका नियोग उपप्रमुख शुशीलकुमार लम्सालका अनुसार काेराेनाविरूद्धकाे ८ लाख ‘भाेरेसेल’ खोप लिएर निगमको जहाज त्यहाँको स्थानीय समयअनुसार १० बजेर २३ मिनेटमा उडेको थियाे । खाेप लिन निगमको मेडिकल कार्गो उडान सोमबार राति ११ बजे काठमाडाैँबाट बेइजिङतर्फ प्रस्थान गरेको थियाे ।
बेइजिङबाट ल्याइएकाे खाेप चीनकाे केन्द्रीय सरकारले उपलब्ध गराएकाे हाे । यसकाे ढुवानी खर्च नेपाल सरकारले बेहाेर्ने छ ।
त्यसैगरी चीनकाे स्वायत्त प्रदेश तिब्बत जनसरकारले दिएकाे २ लाख डाेज खाेपमध्ये ५० हजार ४ सय मात्रा नेपाल-चीन संयुक्त लगानीकाे हिमालय एअरलाइन्सले आज बिहान काठमाडाैँ पुर्याइदिएकाे हाे । अर्काे ५० हजार खाेप पनि हिमालयले आजै काठमाडाैँ ल्याउने छ । बाँकी १ लाख डाेज भाेलि ल्याउने बताइएकाे छ ।
हिमालय एअरलाइन्समा चिनियाँ साझेदारकाे रूपमा तिब्बत जनसरकारकाे लगानी रहेकाे छ । त्यसैले तिब्बतले दिने सबै खाेप उसैले काठमाडाैैसम्मै ढुवानी गरिदिएकाे हाे । ढुवानीवापत झण्डै २ कराेड २२ लाख रूपियाँ खर्च हुने हिमालय एअरलाइन्सले जनाएकाे छ ।
दुई महिनाअघि पनि चीन सरकारले ८ लाख डोज खोप नेपाललाई अनुदानको रुपमा उपलब्ध गराएको थियो । साे खोप निगमकाे जहाजले गएकाे चैत १६ गते बेइजिङबाट काठमाडौँ ल्याएको थियो । चीन सरकारले अनुदानमा दिएकाे खाेपकाे मात्र १८ लाख पुगेकाे छ ।




