काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिन फिङले अनुदानमा दिने घोषणा गरेको १० लाखमध्ये ८ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको जहाज बेइजिङबाट आज बिहान काठमाडौँका लागि उडेको छ ।
बेइजिङस्थित नेपाली राजदूताबासका नियोग उपप्रमुख शुशीलकुमार लम्सालका अनुसार काेराेनाविरूद्धकाे ८ लाख ‘भाेरेसेल’ खोप लिएर निगमको जहाज त्यहाँको स्थानीय समयअनुसार १० बजेर २३ मिनेटमा उडेको हाे । विमान अपराह्न २ बजेर २८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तालिका रहेको पनि लम्सालले जानकारी दिएका छन् ।
याे खाेप चीनकाे केन्द्रीय सरकारले उपलब्ध गराएकाे हाे । खाेप लिन निगमको मेडिकल कार्गो उडान सोमबार राति ११ बजे काठमाडाैँबाट बेइजिङतर्फ प्रस्थान गरेको थियाे । यसकाे ढुवानी खर्च नेपाल सरकारले बेहाेर्ने छ ।
त्यसैगरी बाँकी रहेकाे २ लाख डाेज खाेप चीनकाे स्वायत्त प्रदेश तिब्बतले नेपाल-चीन संयुक्त लगानीकाे हिमालय एअरलाइन्सबाट काठमाडाैँ पुर्याइदिने बताइएकाे छ । तीमध्ये ५० हजार डाेज खाेप काठमाडाैँ पुगिसकेकाे छ भने बाँकी ५० हजार पनि आजै काठमाडाैँ ल्याइने छ । बाँकी १ लाख डाेज भाेलि आउने छ ।
दुई महिनाअघि पनि चीन सरकारले ८ लाख डोज खोप नेपाललाई अनुदानको रुपमा उपलब्ध गराएको थियो । पहिलाे खेपकाे खोप पनि निगमकै जहाजले गएकाे चैत १६ गते बेइजिङबाट काठमाडौँ ल्याएको थियो ।
फाेटाे साैजन्यः नेपाली राजदूताबास बेइजिङ
याे पनि, आज चीनबाट ९ लाख खोप ल्याइँदै

काठमाडाैँबाट बेइजिङका लागि उड्ने तयारीमा साेमबार राति निगमका पाइलट । तस्वीर साैजन्यः किशाेर बस्नेत
